सुनखानीमा पहिरो, १० जनाको पुरिएर मृत्यु

by समतल अनलाइन

बुर्किना फासो । पश्चिमी बुर्किना फासोमा रहेको अस्थायी सुनखानी भत्किँदा १० जनाको मृत्यु भएको छ ।
बुकिना फासोको खानी व्यवसायी संघका अनुसार बिहीबार दिएको जानकारीअनुसार स्थानीय समयअनुसार बुधबार बिहान उनीहरू खानीमा काम गरिरहेको समयमा खानीभित्र पहिरो जाँदा उनीहरू खानीमा फसेका थिए ।

स्थानीय सुन खानी व्यवसायी संघका अधिकारी अबासे डेर्राका अनुसार हाउन्डे सहर नजिकैको खानीमा उनीहरू फसेका थिए । खानीमा काम गरिरहेका कामदारमध्ये अझै केहीलाई जीवित उद्धार गर्न सकिने विश्वाससहित थप श्रमिकको उद्धार प्रयास जारी रहेको छ । ‘अहिलेसम्म मृत्यु हुनेको संख्या १० पुगेको छ’, संघका एक सदस्य मौसा ओएड्राओगोले भने ।

बुर्किना फासोको सुन खानीस्थलहरूमा बारम्बार पहिरो खस्ने गरेको छ, जहाँ स्थानीय समुदायहरूले थोरै लाभ पाउने गरेका महसुस गर्छन् । बुर्किना फासोमा १७ वटा औद्योगिक खानीले प्रतिवर्ष करिब ७० टन उत्पादन गर्ने गरेको छ । यहाँबाट युरोप, अमेरिका, चीनलगायतका विश्वका विभिन्न गन्तव्यमा सुन निर्यात हुने गर्छ । खानी मन्त्रालयका अनुसार अनौपचारिक खानीले हरेक वर्ष १० टन सुन उत्पादन गर्छ भने करिब १५ लाख मानिसलाई रोजगारी दिन्छ । सिन्ह्वा

 
 
  
 

You may also like