बुटवल–बर्दघाट १३२ केभी प्रसारण लाइन एक हप्ता बन्द हुने

by समतल अनलाइन

बुटवल । नेपाल विद्युत प्राधिकरणले बुटवल– बर्दघाट १३२ केभी डबल प्रसारण लाइनमा आज देखि दैनिक ४ घण्टा विद्युत आपुर्ति बन्द गर्ने भएको छ ।

नवलपरासी पश्चिम सुनवल नगरपालिका बडेरास्थित न्यू बुटवल सबस्टेशन नजिकै प्राधिकरणको कालिगण्डकी प्रसारण कोरिडोर आयोजनाको एमसीटी १६ को टावर निर्माण गर्न विद्युत प्रसारण बन्द गर्न लागेको हो ।

प्राधिकरणको बुटवल ग्रीड महाशाखाले सार्वजनिक सूचना जारी गर्दै आजदेखि फागुन ३ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी गराएको हो ।

प्रसारण लाइनमा विद्युत आपूर्ति बन्द हुँदा प्राधिकरणको बुटवल ग्रीड महाशाखा अन्तर्गत बुटवल, सुनवल र मैनहिया सब स्टेशनहरुबाट सञ्चालित औद्योगिक क्षेत्र तथा गाह्रस्थ उपभोक्ताहरु प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन सटडाउन हुँदा बुटवल औद्योगिक क्षेमा रहेका ६५ सहित देवदह, सुनवल, भुमही र बर्दघाटसम्मका करिब दुई सय उद्योगहरुमा दैनिक चार घण्टा विद्युत प्रसारण नहुने र यसबाट उद्योगको उत्पादन र सयौं मजदुरको रोजगारी प्रभावित हुने रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारी बताउँछन् ।

एक हप्तासम्म दैनिक ४ घण्टा विद्युत आपुर्ति कटौति हुदा उद्योगहरुको उत्पादनमा झण्डै ५० प्रतिशत कमी आउन गई त्यसले सरकारको राजस्व र मजदुरको रोजगारीमा समेत असर गरी समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने यादव बताउंछन् ।

मुलुकको आर्थिक मन्दी चर्को बैंक ब्याज दरले पीडित बनेका उद्योगीलाई उक्त अवधिको विद्युत डिमाण्ड चार्ज छुट गरेर सरकारले थोरै भएपनि राहत दिनुपर्ने उद्योग संघको माग रहेको भण्डारीले बताए ।

 
 
  
 

You may also like