नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग प्रधानमन्त्रीको जोड

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मलेसियामा रहेका नेपाली श्रमिकको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीसँग शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली श्रमिकको हितका विषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

‘मलेसिया सरकारले नेपाली श्रमिकहरूलाई प्रदान गर्दै आएको वातावरणका लागि सरकारका तर्फबाट धन्यवाद दिन चाहन्छु’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यदि यो विषयमा केही समस्या भएमा कानुनी तथा संस्थागत सुधार गर्दै मलेसिया सरकारले नेपाली श्रमिकहरूको हित, कल्याण र सुरक्षालाई सुनिश्चित गर्नेछ भन्ने विश्वास लिएका छौँ, हामी मलेसिया सरकारसँग सहकार्य गर्न हामी सदैव तत्पर छौँ ।’

भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मलेसिया सरकारका तर्फबाट श्रमिकहरूको न्यूनतम पारिश्रमिक १२ सय रिगिंटबाट बढाएर १५ सय बनाएकोमा धन्यवाद समेत दिएका छन् । प्रधानमन्त्री सचिवालयका अनुसार फ्री भिसा र फ्री टिकेटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यसो गर्न सकेमा रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताए ।

प्रधानमन्त्री प्रचण्डले मलेसियामा नेपाली श्रमिकहरू इमानदारिता र परिश्रमीका रूपमा सुपरिचित भएको उल्लेख गर्दै भविष्यमा नेपाली श्रमिकको संख्यामा वृद्धि गर्न मलेसिया सरकारलाई आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले राखेको चासोप्रति मलेसियाका गृहमन्त्री नासुसनले मलेसिया सरकारले विदेशी श्रमिकहरूलाई भित्राउने प्रक्रिया र मलेसियामा रहँदा श्रमिक कल्याण र सुरक्षाका विषयमा गम्भीर रहेको बताए ।

उनले मलेसियाको पाँच वटा आर्थिक क्षेत्रमा श्रमिकको आवश्यकता रहेको जानकारी दिंँदै श्रमिकको कल्याणका लागि नीतिगत तथा कानुनी ढाँचामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाली श्रमिकहरूको प्रशंसा गर्दै श्रमिकलाई सहज हुने गरी अन्य नीतिगत सुधारका लागि समेत मलेसियाले गृहकार्य गर्ने बताएको प्रधानमन्त्री प्रचण्ड सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले मलेसियामा नेपाली श्रमिक र श्रम क्षेत्रलाई खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा मलेसिया सरकारको सहयोग आवश्यक रहेकोमा समेत जोड दिए । प्रधानमन्त्री प्रचण्डले मलेसिया जाने श्रमिकहरूको सीप, ज्ञान र क्षमता अभिवृद्धि गर्न तथा मलेसियाबाट सिकेको व्यावसायिक ज्ञान र दक्षतालाई नेपालमा उपयोग गर्ने वातावरण बनाउनका लागि समेत दुवै देशले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

भेटका अवसरमा दुवै देशबीच उच्च राजनीतिक तथा प्रशासनिक तहमा भेटघाट तथा संवाद बढाउँदै व्यापार, लगानी, पर्यटन, आर्थिक विकास लगायतका क्षेत्रमा रहेका सम्भावनाहरूमा समेत मिलेर काम गर्ने विषयमा छलफल भएको थियो । छलफलपछि दुवै पक्षबीच नेपाल र मलेसियाबीच श्रमिक सहकार्यका विषयमा यसअघि सम्पन्न समझदारीपत्रलाई परिमार्जन गर्ने समझदारी पनि भएको छ ।

 
 
  
 

You may also like