किसानले तरकारी फ्याँकेपछि रविले भने, ‘समस्या थाहा छ, समाधान खोज्छौं’

by समतल अनलाइन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनका किसानलाई भेट्न जाने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत केही दिनमै भेट्न जाने बताएका हुन् ।

तरकारीको मूल्य नपाएपछि शुक्रबार आन्दोलनमा उत्रिएका चितवनका किसानहरूको फोटो फेसबुकमा शेयर गर्दै लामिछानेले किसानहरुलाई केही दिनमा भेट्न आउने बताएका छन् ।

‘प्रतिकेजी पाँच रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फाल्नु पर्ने बाध्यतामा छन्, देशका किसान । देशका किसानले उत्पादन गरेको तरकारीको मूल्य छैन, बजार छैन । किसानले सुनौलो भविष्यको सपना बुन्दै उत्पादन गरेको तरकारी मूल्यहीन बनेर सडकमा फाल्नु पर्ने यो दर्दनाक अवस्थाको अन्त्य गर्न लागीपर्ने छौं । समस्या थाहा छ, समाधान खोज्ने छौं । प्रिय चितवन, केही दिनमा भेट्न आउँदै छु है,’ उनले फेसबुकमा लेखेका छन् ।

शुक्रबार किसानहरुले नारायणगढ सडकमा तरकारी फालेर आन्दोलन गरेका थिए । किसानहरुले छ वटा ट्याक्टरमा ल्याएका टमाटर, काउली, बन्दा, फर्सि मेवा, केराउलगायतका तरकारी सडकमा फालेका थिए ।

 
 
  
 

You may also like