लुम्बिनीमा माघ २१ देखि ‘रामकथा प्रवचन’ : भारतका प्रख्यात धर्मगुरु मोरारी बापुको प्रवचन रहने

by समतल अनलाइन

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापुबाट ‘श्री रामकथा प्रवचन’ हुने भएको छ । यही माघ २१ गते देखि २९ गतेसम्म लुम्बिनिको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा हुने प्रवचनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

९ दिनसम्म हुने प्रवचनमा भारत तथा नेपालका २ हजार बढी श्रद्धालुको सहभागिता रहने राम कथा प्रेम यज्ञ समिति, लुम्बिनीका संयोजक राजेश कुमार अग्रवालले जानकारी दिए । कार्यक्रम बारे जानकारी गराउन बुधबार लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै अग्रवालले प्रवचन कार्यक्रमले लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।

आध्यात्मिक गुरु मोरारीको लुम्बिनीमा ९१२ औं राम कथा आयोजना हुन लागेको हो । ‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका उनले सबै धर्मका प्रमुख तीर्थ स्थलहरू एवम् प्रमुख स्थानहरूमा प्रवचन गर्दै आएका छन् । अभियान अन्तरगत भारतको बोधगया, सारनाथ तथा कुशीनगरमा रामकथा प्रवचन सम्पन्न भइसकेको छ । नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो । यसअघि सन २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा प्रवचन गरिएको थियो । यसैगरी काठमाडौं र भुसुण्डी सरोवर (तिलिचो ताल) मा समेत राम कथा बाचन भइसकेको छ ।

लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराउनुका साथै कार्यक्रमका अवसरमा विश्व शान्तिको कामना गर्दै ९१२ वटा विरुवा लगाउने कार्यक्रम भएको संयोजक अग्रवालले जानकारी दिए । धर्म गुरु मोरारी यही माघ २० गते  चार्टर्ड विमान मार्फत सिधै गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल, भैरहवा अवतरण गर्ने कार्यक्रम रहेको आयोजकका प्रतिनिधि कृष्णकुमार जालानले जानकारी दिए । त्यस लगत्तै भगवान बुद्धको जन्मस्थलको दर्शन गरी बुद्ध लुम्बिनी गार्डेन होटलमा तयार गरीएको आफ्नो आवासमा पुग्ने कार्यक्रम रहेको छ ।

यस अघि सन २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो । कार्यक्रमको चर्तित भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट १७० बढी देशमा प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजक प्रतिनिधि बिकास केडियाले जानकारी दिए । कथा कार्यक्रममा रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायत सीमावसर्ती भारतीय शहर तथा गाँउहरुबाट समेत कथा श्रवणका लागि सर्वसाधारणहरुलाई निमन्त्रणा गरिएको छ ।

कार्यक्रममा सहभागी हुने भक्तालुजनका लागि लुम्बिनीका अधिकांश होटलहरु बुकिङ भैसकेको आयोजकले जनाएको छ । यसैगरी यस क्षेत्रको सुरक्षा व्यवस्थालाई समेत कडाई गरी सुरक्षा निकायसँग आवश्यक समन्वयको काम भइरहेको जनाइएको छ ।कार्यक्रममा आधा बढी पहिलो पटक लुम्बिनी प्रवचन सुन्नका लागि आउने आयोजकको दाबी छ । यो कार्यक्रमले लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

 
 
  
 

You may also like