चन्द्रकोटले निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने

by समतल अनलाइन

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले शिक्षक सेवा र लोक सेवा सम्बन्धि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाले विद्यार्थीहरुलाई शिक्षक सेवा र लोक सेवामा आकर्षित गर्नको लागि निःशुल्क रुपमा अभिमुखीकरण कार्यक्रम गर्ने भएको हो ।

गाउँमै बसेर लोकसेवा र शिक्षक सेवाको तयारी गर्न बाताबरण सिर्जनाको लागि गाउँपालिको पहिलो चरणमा अभिमुखीकरण कार्यक्रम गर्ने प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसालले जानकारी दिए । उनका अनुसार गाउँमै जागिरको तयारी गर्नको लागि यही माघ ११ गतेदेखि कक्षा सुरु गर्न लागिएको हो । देशमा हुने रोजगारी तर्फ कम आकर्षित भई बैदेशीक रोजगारीमा जाने बढ्दो चापलाई कम गर्नको लागि कक्षा संचालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष युवराज केसीले गाउँमै बसेर जागिरको तयारी गर्न सक्ने र लोकसेवामा आकर्षण बढाउनका लागि अभिमुखीकरणसहितका कक्षा संचालन गर्न लागिएको बताए । “चन्द्रकोटसहित हाम्रो क्षेत्रबाट लोक सेवामा कम आकर्षण छ ।” अध्यक्ष केसीले भने, “गाउँमै अभिमुखीकरण गराएर त्यसतर्फ केन्द्रित गराउन यो कार्यक्रम राखेका छौँ ।” बाध्यताले सहरमा गएर लोकसेवा र शिक्षक सेवाको कक्षा लिने कुराको अन्त्य र आर्थिक हिसाबले कमजोर भएकाहरुलाई लक्षित गरेर कार्यक्रम तय गरिएको गाउँपालिकाका अध्यक्ष केसीले बताए ।

गाउँपालिकाले संचालन गर्ने पहिलो दिनको अभिमुखीकरण र तयारी कक्षा १८ दिनसम्म चल्नेछ । जसमा सहभागिताको लागि ४५ जनाले निवेदन दिएका छन् । सुरुमा शिक्षक सेवा र लोक सेवाको पहिलो पत्रमा आधारित रहेर तयारी गराइने छ । त्यसपछि बाँकी तयारीका कक्षा सहभागीहरुको आवश्यकताका आधारमा अगाडि बढाइनेछ । अभिमुकीकरणको लागि गाउँपालिकामा कार्यरत अधिकृत स्तरका कर्मचारीहरु रहनेछन् ।

 
 
  
 

You may also like