लुम्बिनीका मुख्यमन्त्री गिरीलाई विश्वासको मत

by समतल अनलाइन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गरेका हुन् ।

नेपालको संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम मुख्यमन्त्रीले विश्वासको लिँदा उनको पक्षमा ५७ मत परेको छ । यस्तै विश्वासको मतको विपक्षमा २८ मत परेको छ । आठ राजनीतिक दल र दुई स्वतन्त्र सदस्य गरी ५७ जनाले पक्षमा मतदान गरेका हुन् ।

मुख्यमन्त्री गिरीको पक्षमा नेकपा (एमाले) २९, नेकपा (माओवादी केन्द्र) का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका चार–चार, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीका तीन–तीन, नेकपा (एकीकृत समाजवादी) का एक र दुई स्वतन्त्र सदस्य थिए । माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराको आमाको निधन भएपछि उनी मतदानमा उपस्थित हुन सकेनन् ।

सरकार गठनमा पक्षमा नरहेको एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य भगवती घिमिरेले विश्वासको मत भने मुख्यमन्त्री लीला गिरीलाई दिएका छन् । सभामुख र उपसभामुख निर्वाचनमा समर्थन गरेका नेपाली कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा मुख्यमन्त्रीलाई विश्वासको मतमा भने विपक्षमा उभिएका छन् ।

मुख्यमन्त्री गिरीले प्रदेशलाई समृद्ध बनाउन साझा उद्देश्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । ‘प्रदेशको समृद्धि र विकास हामी सबैको साझा लक्ष्य उद्देश्य हुन् । त्यसलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने, ‘सबै दललाई मिलाएर अघि बढ्ने छु ।’

 
 
  
 

You may also like