प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिने

by समतल अनलाइन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दैछ ।

प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाई दिन अनुरोध गरेका छन् । उनले २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन महासचिवलाई आग्रह गरेका छन् । प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।

सरकार गठनका क्रममा नेकपा माओवादी केन्द्रलाई नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीले समर्थन गरेपछि प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् ।
राप्रपाले सरकारमा जाने निर्णय गरिसकेको छ भने जसपाले सरकारलाई समर्थन गरे पनि सहभागिताको विषयमा भने केही निर्णय गरेको छैन ।

यता नेकपा एकीकृत समाजवादीले अहिलेका सरकारमा जान नसकिने बताएको छ । प्रधानमन्त्री प्रचण्डले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । जसमा अर्थमन्त्रीमा विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ, गृहमन्त्रीमा रवि लामिछाने छन् । यस्तै, ज्वालाकुमारी शाह,दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खानलाई विनाविभागीय मन्त्री तोकिएका छन् ।

 
 
  
 

You may also like