भैरहवा।अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा विजयी हुँदै काशी नोबल एकेडेमी फाइनल प्रवेश गरेको छ । काशीले साई ग्लोबल एकेडेमी ‘बी’ टिमलाई ७ विकेटले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा न्यु होराइजन कलेजले शान्ति नमूना उच्च माविलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । अब, काशी र न्यु होराइजनबीच आइतबार उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघले जनाएको छ ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको अन्तिम सेमिफाइनलमा जितका लागि साई ग्लोबलबाट पाएको ८८ रनको लक्ष्य काशीले १३ ओभर १ बलमा ३ विकेटको नोक्सानीमा पूरा गर्यो । काशीको जितमा ५ चौका र १ छक्काको मद्दतमा प्रज्वल थापाले सर्वाधिक नटआउट ५१ रन बनाए । यस्तै, सिद्धार्थ अधिकारीले ११, शंकर रानाले ९ र सेजाद आलमले नटआउट ८ रनको योगदान दिए । बलिङमा साई ग्लोबलका सामोत पौडेल र मिर्नाल गुरुङले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको साई ग्लोबलले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै ८७ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि प्रवेश थापाले २९ र मिर्नाल गुरुङले २२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । बलिङमा उसलाई सस्तैमा रोक्न काशीका शंकर राना, सेजाद आलम, सन्देश जिसी र सुप्रित घिमिरेले समान २–२ तथा सिद्धार्थ अधिकारीले १ विकेट लिए । काशीका प्रज्वल थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताका बिजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपबिजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगितामा अनुशासित एक टिमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगितालाई साई ग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।