बैंकको ज्यादती विरुद्ध बुटवलका उद्योगी व्यवसायी पनि आन्दोलित

by समतल अनलाइन

बुटवल । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी मार्गदर्शन तथा बैंकहरुले उद्योगी व्यवसायीहरु प्रति गरेको अव्यवहारिक नीतिका विरुद्ध रुपन्देहीका उद्योगी व्यवसायीहरु पनि आन्दोलित भएका छन् ।

यसका सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघले हालै दाङमा प्रदेश स्तरीय भेला गरेको थियो । उक्त भेलाले यहि पुसको २० गतेसम्म आन्दोलनका कार्यक्रम तय गर्दै त्यतीवेला सम्म पनि आफूहरुका माग सम्बोधन नभए २२ गते काठमाण्डौं केन्द्रित आन्दालन गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार बुटवलमा क्रियाशिल बिभिन्न व्यवसायिक संघसंस्थाहरुले हस्ताक्षर संक्रलन कार्यक्रम गरेका हुन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको संयोजनमा रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संघ बुटवल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही र नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले संयुक्त रुपमा हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी गराउनु भयो ।

उहाँका अनुसार यो कार्यक्रम २१ गतेसम्म जारी रहने छ । संकलित हस्ताक्षर नेपाल उद्योग वाणिज्य महासंघ मार्फत नेपाल राष्ट्र बैंकलाई बुझाईने छ । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पँुजी मार्गदर्शन तथा बैंक तथा वित्तिय संस्थाहरुको अव्यबहारिक नीतिका कारण उद्योगी व्यवसायीलाई जटिल अवस्थामा पु¥याएको उहाँको भनाई छ । नेपाल राष्ट्र बैंकको नीतिकै कारण बैंक तथा वित्तिय संस्थाहरुले व्याजदर बढाउँदै लैजाँदा उद्योगी व्यवसायी तिर्नै नसक्ने स्थितीमा पुगेका छन् । बुटवलमा मात्रै चार पाँच जना व्यवसायीले आत्महत्या गरिसकेको उहाँले दावी गर्नु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले आज देखि २१ गतेसम्म हस्ताक्षर संकलन गर्ने निर्णय गरेको थियो । सोही अनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा जिल्ला नगर उद्योग वाणिज्य संघले हस्ताक्षर संकलन गरिरहेको प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा बताउनु हुन्छ ।

त्यस्तै १७ गते आईतबार कालो पट्टि बाधेर विरोध प्रर्दशन गर्ने, जनप्रतिनीधि र बैंकका प्रमुखहरुलाई राखेर व्यवसायिक वातावरण नभएसम्म व्यवसायीलाई आतंकित नबनाउन आग्रह गर्ने, १९ गते राष्ट्र बैंक भएका ठाउँमा राष्ट्र बैंक र नभएका ठाउँमा जिल्ला प्रशासन कार्यालयमा कालो पट्टि सहित धर्ना दिने र त्यसबेला सम्म पनि आफूहरुका माग सम्बोधन नभए प्रदेश उद्योग वाणिज्य महासंघसँग समन्वय गरेर काठमाण्डौं केन्द्रित कार्यक्रमको तयारी गर्ने कार्यक्रम तय भएको छ । सोही अनुसार यहाँका उद्योगी व्यवसायीहरु पनि आन्दोलित भएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव विमलराज भट्टराईले बताउनु भयो ।

 
 
  
 

You may also like