साई ग्लोबल कपः न्यु होराइजन फाइनलमा, साई ग्लोबल ‘बी’ सेमिफाइनलमा

by समतल अनलाइन

भैरहवा ।रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा विजयी हुँदै न्यु होराइजन कलेज फाइनल प्रवेश गरेको छ । न्यु होराइजनले शान्ति नमूना उच्च माविलाई एक सय रनको फराकिलो अन्तरले हराउँदै फाइनल यात्रा पक्का गरेको हो । यस्तै, बिहीबारै भएको अन्तिम क्वाटरफाइनल खेलमा जेसिज उच्च माविलाई पराजित गर्दै साई ग्लोबल एकेडेमी ‘बी’ सेमफाइनल प्रवेश गरेको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २० ओभरको खेलमा ३ विकेटको नोक्सानीमा १ सय ५७ रनको योगफल बनायो । उसका लागि अमर मिश्राले ६७, प्रकाश गिरीले नटआउट ४८, संकेत भट्टराईले २२ र निश्चल ज्ञवालीले १० रनको योगदान दिए । बलिङमा शान्ति नमूनाका सागर भण्डारी र जय गोदारले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको शान्ति नमूना १८ ओभर १ बलमा सबै विकेट गुमाएर ५७ रनमै समेटियो । उसका लागि कुनै ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । निशान पाण्डेले सर्वाधिक ७ रन बनाए बनाए । बलिङमा उसलाई सस्तैमा रोक्न न्यु होराइजनका निर्मल गुरुङले ४, अमर मिश्राले ३ तथा महेश भर र प्रकाश गिरीले १–१ विकेट लिए । होराइजनका अमर मिश्रा म्यान अफ द म्याच भई पुरस्कृत भए ।

अन्तिम क्वाटरफाइनल खेलमा टस जितेर ब्याटिङ गरेको जेसिजले ७ ओभर ३ बलमा सबै विकेट गुमाएर ३३ रन बनायो । मौसमका कारण १० ओभरमा छोट्याइएको उक्त खेलमा उसका लागि निश्चल चौधरीले सर्वाधिक ९ रन बनाए । बलिङमा साई ग्लोबलका मिर्नाल गुरुङ र मोहम्मद हुसेनले समान ३–३ तथा अभिषेक कोहाँरले २ र जयप्रताप यादवले १ विकेट लिए ।

प्रतिउत्तरमा साई ग्लोबलले ३ ओभर २ बलमा १ विकेटको क्षतिमा ३४ रन बनाउँदै जित निकाल्यो र सेमिफाइनल यात्रा पक्का गर्यो । उसका लागि मिर्नाल गुरुङले २१ र इमरान खानले नटआउट १३ रन बनाए । बलिङमा जेसिजका निश्चल चौधरीले १ विकेट लिए । साई ग्लोबलका मिर्नाल गुरुङ म्यान अफ द म्याच भई पुरस्कृत भए ।

पुस १६ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपबिजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँले पुरस्कृत गरिने संघका सचिव संजय गुरुङले जानकारी दिए । यस्तै, प्रतियोगितामा अनुशासित एक टिमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगितालाई साईग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।

 
 
  
 

You may also like