अर्थतन्त्र काबुभन्दा बाहिर पुगिसकेको छैन, लयमा फर्काउँछु : अर्थमन्त्री पौडेल

by समतल अनलाइन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नव निर्वाचित कार्य समितसँगको भेटमा मन्त्री पौडेलले अर्थतन्त्रलाई दीगो वृद्धिको बाटोमा लैजनाका लागि प्रयास गर्ने पनि बताएका छन् ।

मन्त्री पौडेलले राम्रो काम गरेको भए राम्रो र राम्रो काम नगरे आलोचनात्मक टिप्पणी गर्न पत्रकारहरुलाई आग्रह समेत गरे । उनले भने, ‘अर्थतन्त्रको स्थिति काबू बाहिर पुग्यो भन्ने होइन । समस्याहरु धेरै छन् । त्यसमा केही मिस ह्याण्डलिङ पक्कै भएको हो । यद्यपि सावधानिक रुपमा ठीक ढंगले अघि बढ्यौं भने हामीले चाँडै लयमा फर्काउन सक्छौं ।’ उनले भनmे ‘म बाहिर बसेर पनि अर्थतन्त्रलाई हेरिरहेको छु र अहिले भित्र बसेर पनि विभिन्न सुझाव लिइरहेको छु । बाहिर बसेर हेर्दा र भित्र बसेर हेर्दा अलि फरक पर्ने रहेछ त्यसको महसुस मैले पनि गरिरहेको छु ।’

अहिले सबैको साझा सरोकार अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउने भएकाले अर्थतन्त्रमा रहेका समस्यालाई ठिक ढंगले चिन्ने र यसको उपयुक्त समाधान गर्नुपर्ने मन्त्री पौडेलको भनाई छ । सबल अर्थतन्त्र निर्माणका लागि एक–एक इँटा थप्दै जाने काम गर्नुपर्ने भएकाले त्यसका लागि सबै पक्षको रचनात्मक भूमिका आवश्यक भएको उनले बताए ।

अर्थमन्त्री पौडेलले अघिल्लो कार्यकालमा आर्थिक पत्रकारहरूको सहकार्य र समन्वयले अर्थतन्त्र सुधारसँगै विकासका सहयोग पुगेको बताउँदै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिवद्धता गरे । संकटको संघारमा रहेको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याएर समृद्धितर्फ उन्मुख गराउन सबै क्षेत्रले सकारसँग सहकार्य गर्दै एक-एक वटा इटा थप्ने काम गर्न उनले आग्रह समेत गरे ।

भेटघाट कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले नव नियुक्त अर्थमन्त्रीलाई सफल कार्यकालको शुभकामना दिँदै अर्थतन्त्र सुधार गर्न तत्काल गर्नुपर्ने सुझाव पेस गरे । यस्तै अर्थ मन्त्रालयमा पत्रकारहरूले सूचना प्राप्त गर्न कठिन भएकाले रियल टाइममै सूचना उपलब्ध गराइदिन आग्रह गरे ।

 
 
  
 

You may also like