अर्थतन्त्र सुधारमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रको सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा उनले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार रहेको बताए । प्रधानमन्त्री दाहालले भने, ‘मुलुकको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । ब्याजदर वृद्धि, तरलता समस्यालगायत विषयमा सरकार जानकार छ । अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेमा सम्पूर्ण ध्यान केन्द्रित भएको छ ।’

उनले अर्थतन्त्रको वर्तमान चुनौतीलाई अवसरमा बदल्न सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री दाहालले भने, ‘सामूहिक प्रयासबाट अर्थतन्त्रमा देखिएको सङ्कटलाई जोगाउने दायित्व सबैको हो । सार्वजनिक निजी साझेदारीको अवधारणालाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने छ ।’ सो अवसरमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विद्यमान आर्थिक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदर एवं तरलता अभावका कारण लगानीको वातवरण बन्न नसकेको उनले बताए ।

उनले भने, ‘दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य पूरा गर्न एकल अङ्कको ब्याजदर कायम गरिनुपर्दछ । दिगो आर्थिक विकास र स्थायित्वका लागि लगानीको वातावरण बन्न आवश्यक छ ।’ चेम्बरले सरकारलाई आठ बुँदे सुझाव समेत दिएको छ ।

 
 
  
 

You may also like