पाँच दलले समानुपातिक सूची सच्याउनु पर्ने, आजै सार्वजनिक गर्ने तयारी

by समतल अनलाइन

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेको सूची आज (सोमबार) सार्वजनिक गर्ने तयारी गरेको छ ।
आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ राजनीतिक दलले बुझाएको सूची अनुसार नाम सार्वजनिक गर्न लागेको हो ।

समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूलाई समावेशी समूहबमोजिम सच्याउने समय सोमबार साँझ ४ बजेसम्मको छ । त्यसपछि प्रक्रिया पूरा गरेर नाम सार्वजनिक गर्न लागिएको हो । नामावली सच्चिएर प्रतिनिधित्व भई आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने उक्त प्रणालीतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए । सोमबार सार्वजनिक गर्ने तयारी रहेको र नभ्याइएमा भने मंगलबार निर्वाचित भएको घोषणा गरिने बताए ।

संघीय संसदमा समानुपातिकतर्फ एमालेले ३४ सिट, कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५-५ सिट प्राप्त गरेका छन् । यसमा बन्दसूचीमा समावेश भएका नामहरुबाट दलहरूले आयोगमा सांसदहरूको सूची बुझाएका थिए । सातमध्ये छ वटा राजनीतिक दलहरूले बुझाएको समानुपातिक सांसदको सूचीमा त्रुटि भेटिएपछि सच्याएर पठाउन आग्रह गरिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।

‘पाँच राजनीतिक दलहरूलाई पुनः सूची सच्याएर पठाउनका लागि भनेका छौं,’ पौडेलले भने । उनका अनुसार ती दलहरुले प्रदेशसभातर्फको सूचीमा त्रुटी गरिएको भेटिएको हो । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीै र नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फका सांसदहरुको छनोटमा विभिन्न प्रकारका गल्तीहरु गरेका छन् । जुन सच्याएर पेश गर्नका लागि आयोगले आग्रह गरेको छ ।

 
 
  
 

You may also like