‘गुनासा छन् तर एमाले छोड्न सक्दैनौ’

by समतल अनलाइन

बुटवल । रुपन्देही क्षेत्र नं २ का मतदाताले विकास र समृद्धिमा प्रतिवद्ध दलका उम्मेदवारलाई भोट दिने बताएका छन् ।
बुटवल वडा नं १३ को नागरिक टोल तथा जवइ क्षेत्रमा घरदैलोमा पुगेका एमाले क्षेत्र नं २(२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठसँग मतदाताले विकास र समृद्धिको एजेण्डा एमालेले उठाएका कारण अरु दललाई भोट हाल्न नसक्ने बताए । पार्टीप्रति गुनासा भए पनि एमाले छोड्न नसक्ने उनीहरुको भनाइ थियो ।

जिल्लामा धेरै योजनाहरु एमाले सरकारकै पालामा आएका कारण एमालेको विकल्प नभएको नागरिक टोलका नारायण मरासिनीले बताए । “तिनाउ दानव करिडोरले बिस्थापित हुन्छौ की भन्ने डर थियो तर विकल्पविना नहटाउने भएपछि अब ढुक्क भएका छौँ”– मरासिनीले भने ।
घरदैलोका क्रममा सो क्षेत्रका बासिन्दाले तिनाउ नदी करिडोरमा पर्ने स्थानीयलाई व्यवस्थापन गरेर मात्र आयोजना निर्माणको काम अघि बढाउन आग्रह गरेका थिए ।

जवाफमा श्रेष्ठले स्थानीयलाई उचित स्थानमा आवासमा व्यवस्थापन गरेर मात्रै करिडोर निर्माणको काम अघि बढाउने विश्वास दिलाए । उनले विरोधीले फैलाएको हल्लाका पछाडि नलाग्न आग्रह गरे । आफ्नो क्षेत्रका जनताको मन दुखाएर कुनै काम अगाडि नबढाउने उनको प्रतिवद्धता थियो ।

तिनाउ दानव करिडोर निर्माणले त्रसिएका स्थानीयहरु विकल्पविना काम अघि नबढ्ने आश्वासन पाएपछि खुशी भएको स्थानीय सिता थापा खड्काले बताइन् ।

जवईमा भएको घरदैलोका क्रममा स्थानीयले बुटवल वारि र पारीको विभेद हटाउन यो क्षेत्रमा पनि विकास र पूर्वाधार निर्माणका योजना भित्र्याउन आग्रह गरे । “हामी जिताउँछौ तर विकासमा यो क्षेत्र पछि पर्नु हुदैन”, स्थानीय पूर्णबहादुर थापाले भने ।
उम्मेदवार श्रेष्ठले मुख्य सडकको स्तरोन्नति तथा अन्य विकास निर्माणका कामले अब बुटवल वारि र पारीको विभेद हट्ने बताए । यो क्षेत्रमा जनताको सुझावका आधारमा विकासका काम अघि बढाउने उनको भनाइ थियो ।
नेता श्रेष्ठले समग्र देशको विकास समृद्धिका लागि मंसिर ४ गतेको निर्वाचनमा सूर्य चिन्हमा मत हालेर एमाले उम्मेदवारलाई विजयी बनाउन अनुरोध गरे ।

 
 
  
 

You may also like