यौनिक तथा लैंगिक समुदायद्वारा मतका लागि मात्र प्रयोग नगर्न सुझाव

by समतल अनलाइन

बुटवल। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सवालमा सरकारले विशेष ध्यान दिन तेस्रोलिङ्गी तथा समलिङ्गीहरुले माग गरेका छन् । पछिल्लो समय आफ्नो समुदायका लागि केहीहद सम्म सरकार उदार बन्दै गएको उल्लेख गर्दै तेस्रोलिङ्गी तथा समलिङ्गीहरुले राज्यका हरेक निकायमा समानुपातिक सहभागिताको माग गरेका हुन् ।

सेभ द चिल्ड्रेनको सहयोगमा निल हिरा समाजले रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको कार्यक्रममा यौनिक तथा लैंगीक अल्पसंख्यकहरुलाई विगतमा दिनमा भन्दा अहिले सहज अवस्था रहेको भन्दै आफ्ना समस्याका बारेमा राज्यले अझै ध्यान दिनुपर्ने बताएका हुन् । कार्यक्रममा साहसी कदम नेपाल रुपन्देहीकी अध्यक्ष आनिक रानामगरले विगतमाभन्दा राज्यले अहिले सकारात्मक ब्यवहार गरेको बताउनुभयो । उहाँले संघिय, स्थानीय तथा प्रदेश सरकारले यौनिक तथा लैंगीक अल्पसंख्यक समुदायको लागि थप कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।

उहाँले निर्वाचनका बेला मताधिकारको प्रयोग गर्न आग्रह गर्ने मात्र नभई अवसर पनि दिन उम्मेदवारहरुलाई सुझाव दिनुभयो । यस्तै कार्यक्रममा प्रदेश सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी महाशाखा प्रमुख शारदा बस्यालले प्रदेश सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मुद्दामा प्रदेश सरकार सकारात्मक भएको बताउनुभयो । निल हिरा समाजका कार्यकारी निर्देशक सञ्जय शर्माले यौनिक तथा लैंगीक अल्पसंख्यक समुदायले पहिचान अनुसारको नागरिकता पाउन नसकेको भन्दै यी लगायतका समस्या समाधान हुनुपर्ने बताउनुयभो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका जनस्वास्थ्य प्रमुख धुर्वराज घिमिरे, तिलोत्तमा नगरपालिका महिला तथा बालबालिका प्रमुख सम्झना भण्डारी, इन्सेक प्रतिनिधि रिमा बीसी, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय महासंघका भुमिका श्रेष्ठ, एक्लोलाई सहारा दिने वृक्ष समुहका कार्यक्रम संयोजक मलिना न्यौपाने, तेस्रो लिङ्गी महिला पुष्पा लामा लगायतले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई उम्मेदवारले मतका लागि मात्र प्रयोग नगर्न सुझाव दिदै समान सहभागिताको अवसर पनि दिन आग्रह गर्नु भएको थियो ।

 
 
  
 

You may also like