गृहमन्त्री खाँणलाई बामदेवको एकता अभियानको साथ

by समतल अनलाइन

भैरहवा ।बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका उम्मेदवार एवं नेपाली काँग्रेसका नेता गृहमन्त्री बालकृष्ण खाँणलाई सहयोग गर्ने भएको छ । उक्त पार्टीले शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी आगामी मंसिर ४ को निर्वाचनमा सहयोग गर्ने जनाएको हो ।

अभियानले लोकतन्त्र र मुलुकको परिवर्तनमा योगदान दिएको काँग्रेस र यसका नेता गृहमन्त्री खाँणलाई सहयोग गर्ने निर्णय गरेको पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्यालले जानकारी दिए । उनले ठूला परिवर्तनमा सहयोद्धा भएर काम गरेका खाँण र काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने नीतिअनुसार यसपटक क्षेत्र नम्बर ३ मा सहयोग गर्ने निर्णय भएको बताए ।

उनले क्षेत्र नम्बर ३ मा आफूहरुको करिब २ हजार २ सय मत रहेको जनाउँदै उक्त मत खाँणको पक्षमा दिने बताए । कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको आवश्यकतालाई हेरेर आफूहरुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । उनले यो निर्वाचनलाई सफलता प्रदान गर्न एकता अभियानले गरेको सहयोग महत्वपूर्ण हुने समेत बताए ।

 
 
  
 

You may also like