रुपन्देही २ का मतदाता भन्छन् – ‘हाम्रो विश्वास एमालेप्रति नै छ’

by समतल अनलाइन

बुटवल । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउन अब १० दिन मात्रै बाँकी छ । निर्वाचनको मिति जतिजति नजिकिँदो छ । विभिन्न राजनीतिक दलका उम्मेदवारलाई मत माग्न भ्याइनभ्याइ छ । रुपन्देहीमा अन्य दलसँगैं नेकपा एमाले उम्मेदवारहरु पनि जनताको घरदैलोमा पुगेका छन् ।
चुनावी एजेण्डा र प्रतिबद्धतासहित एमालेका उम्मेदवारहरु मतदाताको दैलोमा छन् । खासगरी रुपन्देही निर्वाचन क्षेत्र नं २ मा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल नै प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएपछि बुटवल क्षेत्रका मतदाता उत्साहित छन् ।
चुनावी प्रचारका लागि घरदैलोमा पुगेका पौडेललाई मतदाताले फूलमालाले स्वागत गर्दैै आगामी प्रतिवद्धता चासोका साथ हेरेका छन् । मन्त्री भएका बेला दर्जनांै आयोजना भित्र्याएर समग्र जिल्लाको विकास गरेको भन्दै मतदाताले उनलाई स्याबासी मात्रै दिएका छैनन् सुरु भएका गौरवका आयोजना समयमा पूरा गर्न खबरदारी गर्न आग्रह गरेका छन् । “काम गरेकालाई गरेको भन्नुपर्छ । विष्णु पौडेल मन्त्री हुँदा यहाँ धेरै योजना परे । भोलि प्रधामन्त्री हुने संभावना बोकेको व्यक्ति हो । त्यसैले हाम्रो साथ एमालेलाई हुन्छ”, बुटवल –५ की लक्ष्मी पाण्डे भन्छिन् ।
पौडेलले मतदाताका माझ मत माग्नेभन्दा पनि बुटवलसहित समग्र जिल्लालाई सुन्दर सहरका रुपमा परिणत गर्न के गर्न सकिन्छ भनेर सुझाव मागिरहेका छन् ।
पौडेल अर्थमन्त्री भएका बेला गौतमुबद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल बेलहिया ६ लेन सडक, बुटवलमा अन्तर्राष्ट्रिय सभाहल तथा प्रदर्शनी केन्द्र, तिनाउ दानव सडक, सिद्धबाबा सुरुङमार्ग लगायत दर्जनौं ठूला परियोजनाहरु रुपन्देहीमा सुरु भएका छन् केही सकिएका छन् भने केही भरखर सुरु हुँदैछन् । यतिमात्र होइन शिक्षा र स्वास्थ्यमा समेत राम्रो बजेट आयो जसले गर्दा पौडेलको उचाइ यो क्षेत्रमा बढेको मतदाताको बुझाई छ ।
“शहरी सडककै नमुना सडकहरु बुटवलमा बन्ने भएकाले बुटवल सुन्दर सहरका रुपमा परिणत हँुदैछ । अन्य पूर्वाधारका योजना पनि समयमै पूरा गर्न सबैले दबाब दिनुपर्छ । सुरु भएका योजना पूरा भएमात्रै रुपन्देही विकासको रोलमोडल बन्छ ”– पौडेल भन्छन् ।
प्रतिनिधि सभामात्र होइन प्रदेशसभामा समेत पार्टीका अब्बल उम्मेदवारहरु चुनावमा उत्रिएपछि मतदाता उत्साहित भएका छन् । प्रदेशका मन्त्री भइसकेका लिला गिरी क्षेत्र नं २ को (१) का उम्मेदवार हुन् । गिरीलाई सादगी र इमान्दार नेताका रुपमा धेरैले चिन्छन् । “नेपालको राजनीतिमा थोरै मात्र इमान्दार छन् ती मध्ये लिला गिरी हुन् । हामीले उहाँँको व्यक्तित्व बुझेका छौं त्यसैले उहाँलाई छोडेर अरुलाई रोज्ने कुरा हुँदैन”, तिलोत्तमा १ का दयानिधी ज्ञवाली भन्छन् ।
मन्त्री भएका बेला सडक पूर्वाधार, पर्यटन, धार्मिक पर्यटन, मठमन्दिर, वन तथा वातावरणका क्षेत्रमा धेरै योजनाहरु छनोट गरेर काम अघि बढाएकाले ती योजना पूरा गर्न र नयाँ योजना शुरु गर्न आफू उम्मेदवार बनेको गिरी बताउँछन् ।
शंकर पोखरेल नेतृत्वको सरकारमा रहँदा आफूले जनताको सेवक बनेर काम गरेकाले अहिले पनि जनताले साथ दिने उनको विश्वास छ ।
त्यस्तै प्रदेश सभा २(२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठलाई पनि चुनाव प्रचारका लागि भ्याइनभ्याइ छ । बुटवलको मेयर हुँदा आधुनिक बुटवलका योजनाकार मानिने श्रेष्ठले २०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकारद्वारा गठित सुकुम्बासी समस्या समाधान आयोगको जिम्मेवारीमा रहँदा धेरै काम गरेको सम्झना बुटवलवासीलाई छ ।
आयोगको अध्यक्षको हैसियतले ५ हजारभन्दा बढी बुटवलका सुकुम्बासीलाई जग्गाधनी लालपूर्जा प्रदान गरेका नेता श्रेष्ठ उम्मेदवार भएपछि सुकुम्बासी बस्तीका मतदातालाई लालपूर्जा पाउने आशा अझै मरेको छैन ।
२०७४ को पहिलो प्रदेशसभा निर्वाचनमा उनी लोकप्रिय मतका साथ विजयी भएका थिए । प्रदेश सरकारमा उनी ९९ दिन मन्त्री हुँदा स्वास्थ्य क्षेत्र जनपक्षीय काम गरेको उनको भनाइ छ । उनले प्रदेशमा निःशुल्क रगत तथा अक्सिजन प्लान्ट स्थापना गर्ने काम गरेका थिए ।

 
 
  
 

You may also like