गठबन्धन १३० स्थानमा अगाडि छ ः गृहमन्त्री खाँण

by समतल अनलाइन

भैरहवा ।गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो पार्टी र गठबन्धनबाट पाएको सूचना अनुसार हालसम्मको स्थितिमा पाँच दलीय गठबन्धन १ सय ३० ठाउँमा अग्रस्थानमा रहेको बताएका छन् । त्यस्तै, उनले एमाले २१ र बाँकी १४ स्थानमा अन्य दलको अग्रता रहेको दावी गरेका छन् । उनले राप्रपा ५–६ क्षेत्रमा तेस्रो–चौथो स्थानमा रहेको र बाँकी ठाउँमा निकै पछाडि रहेको बताए ।

नेकपा एकीकृत समाजवादी रुपन्देही क्षेत्र नम्बर ३ निर्वाचन परिचालन कमिटीले मंगलबार भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै रुपन्देही–३ बाट प्रतिनिधिसभा उम्मेदवार समेत रहेका कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य खाँणले उक्त कुरा बताएका हुन् । यो अग्रता मेहनत गर्दै जाँदा अझै बढ्ने र गठबन्धनले अत्याधिक बहुमत ल्याउने समेत उनले बताए । उनले माधव नेपाल प्रधानमन्त्री र आफू सिंचाईमन्त्री भएको बेला रुपन्देहीमा धेरै बिकासका आयोजना अगाडि बढेको पनि बताए ।

भैरहवा–परासी सडक खण्डको विस्तार, बेलहिया–बुुटवल ब्यापारिक मार्ग बिस्तार, जनताको तटबन्धन जस्ता महत्वपूर्ण आयोजानहरु नेपाल प्रधानमन्त्री र आफू सिंचाईमन्त्री भएको बेला सुुरु गरिएको गृहमन्त्री खाँणले बताए । ‘अब पनि सहमती र सहकार्यका साथ गठबन्धनलाई अगाडि बढाएर मुलुुकलाई आगामी पाँच वर्षभित्र आर्थिक रुपमा पनि बिकसित बनाइने छ’, उनले भने ।

त्यस्तै, एक अर्को प्रशंगमा उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई शान्तिपूर्ण मतदानमा सहभागी गराउन उक्त समूह र सरकारबीच निरन्तर छलफल भैरहेको बताए । उनले राजनीतिक मूलधारमा ल्याउन सरकार र उक्त समूहबीच द्विपक्षीय वार्ता भएको पनि जानकारी दिए । गृहमन्त्री खाँणले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग २ दिनअघि भैरहवामा वार्ता भएको र उक्त बार्ता सकारात्मक रुपमा अगाडि बढेको बताए ।

उनले कारागारमा रहेका बन्दीलाई प्रक्रिया मिलाएर छाड्ने, मुद्दा फिर्ता लिनेलगायत विषय वार्तामा छलफल भएको बताए । पूर्ववर्ती सरकारले गरेको सम्झौताअनुसार कतिपय बन्दीहरुलाई छोडिसकेको र अन्यलाई पनि जेलमुक्त गर्न कानुन संशोधनका लागि फाइल कानुन मन्त्रालयमा पठाइसकिएको उनले जानकारी दिए । नेकपा वार्ता टोलीका संयोजक विश्वकर्माले काठमाडौंमा जारी रहेको उक्त पार्टीको बैठकमा प्रस्ताव राख्ने र सरकारसँग थप छलफल तथा सम्झौता गर्ने बताएको गृहमन्त्री खाँणले जनाए ।

गृहमन्त्री खाँणले नेकपाका नेता कार्यकर्तासमेत निर्वाचनमा भाग लिन खोजे प्रशासनले धरपकड नगर्ने र अन्य नागरिकसरह मतदान गर्ने अवसर दिने प्रस्ताव गरेको जनाए । ‘उहाँहरू शान्तिपूर्ण तरिकाबाट मतदान गर्न आए प्रशासनबाट धरपकड हुने छैन । हामीले वचन दिएका छौँ,’ उनले भने, ‘तर, मतदान बिथोल्न खोजे र मतदातालाई आतंकित पारे सरकार चुप लाग्न सक्दैन । यो पनि भनेका छौँ ।’ उनले निर्वाचनलाई भयरहित, स्वच्छ र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी नराख्ने जनाए ।

 
 
  
 

You may also like