विकासको खाका हामीसँग छ ः गृहमन्त्री खाँण

by समतल अनलाइन

भैरहवा।गृहमन्त्री बालकृष्ण खाँणले विकासको स्पष्ट खाका पाँच दलीय गठबन्धनसँग भएको बताएका छन् । मुलुुकमा, शान्ति, स्थिरता, विकास, शुसासन र समृद्धिका लागि पाँच दलीय गठबन्धन निमार्ण भएको प्रस्टाउँदै उनले विकासको स्पष्ट खाकासहित गठबन्धन अगाडि बढेको दावी गरे । खाँणले विकासप्रति प्रतिबद्ध र योजना भएका उम्मेदवारलाई जिताउन पनि आग्रह गरे । उनले रुपन्देहीको विकास र समृद्धिको खाका आफूहरुसँग भएको जनाउँदै पाँच दलीय गठबन्धनलाई अत्यधिक मतले जिताउन अनुरोध गरे । खाँणले रुपन्देहीमा जनजीविका र राष्ट्रिय महत्वका योजनालाई एकीकृत गरी विकास गर्न जरुरी रहेको बताउँदै यसको नेतृत्व गठबन्धनले गर्ने प्रष्ट समेत पारे ।

शुक्रबार शुद्धोधन गाउँपालिकामा आयोजित तरुण प्रक्षिण कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खाँणले विकासका योजना नै नभएका, आफ्ना कुरा प्रष्ट राख्न नसक्ने, निर्वाचनपछि सरकारसमेत बनाउन नसक्ने नेतालाई जिताएर समृद्धिको सपना पूरा हुन नसक्ने उल्लेख गरे । ‘सरकार गठबन्धनले बनाउँछ, योजना निर्माणदेखि त्यसलाई मूर्तरुप दिने काम गठबन्धनले गर्छ’, उनले भने, ‘जब केही उम्मेदवारहरुले न सरकार बनाउने ल्याकत राख्छन्, न प्रष्टसँग बोल्न सक्छन् । त्यस्तालाई जनप्रतिनिधि चुन्यौं भने क्षेत्र, जिल्ला र मुलुकको विकास कसरी हुन्छ । उनीहरुप्रति कसरी विश्वास गर्न सकिन्छ ?’

उनले जनतामा भिजेका, विकासको झोला बोकेका उम्मेदवारलाई आगामी मंसिर ४ को निर्वाचनमा बिजयी बनाउन समेत आह्वान गरे । ‘रुपन्देहीको विकासले देश भरिका युवाहरुलाई उत्साहित गर्ने छ । नेपाल बनाउने अविभारा हाम्रो काँधमा आएको छ । यसमा युवाहरुको साथ जरुरी छ’, उनले भने । नेकपा एमाले, राप्रपा र जसपाबीचको तीन दलीय गठबन्धन कुनै विचार, सिद्धान्तले पनि अग्रगमनको पक्षमा नरहेको आरोप लगाए । ‘एउटा दलले राजा ल्याउने भन्छ, अर्काले गणतन्त्रको वकालत गर्छ, अर्काले अझ फरक धारणा राख्छ’, उनले भने, ‘यस्तो गठबन्धनले कसरी संविधान, गणतन्त्र, संघीयताको रक्षा गर्नसक्छ ? विकास कसरी गर्छ ? त्यसैले यस्तो बेमेलको गठबन्धनबाट हामी सबै सजग हुनुपर्छ ।’

२०७४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउँदा सरकार चलाउन नसकेर महत्वपूर्ण समय खेर फालेको र राप्रपा त्यो भन्दा पहिला नै असफल भैसकेको भन्दै उनले मुुलुुकको बर्तमान ब्यबस्थालाई जोगाउँदै अग्रगमन चाहने सबैले पाँच दलीय गठबनधनका उम्मेदवारलाई बिजयी गराउनुुपर्ने बताए । ‘लोकतान्त्रिक गणतन्त्रबाट नै जनता मालिक बनेका हुन् । गणतन्त्रको माध्यमबाट नेपाली नागरिकको अवस्था बदल्न र रोजगारी सिर्जना गरि नेपाली जनतालाई खुशीयालीमा बदल्न पनि पाँच दलीय गठबन्धन आवश्यक छ’, मन्त्री खाँणले भने, ‘पश्चगामीहरुले जित्नुु भनेको देसको विकास र राजनीति पछाडी फर्कनुु हो ।’

तरुण युवाहरुमा देखिएको उत्साह र एकताले नै गठबन्धन बिजयी हुने उनको विश्वास छ । उनले तरुण युवाहरु जागे गठबन्धनले सहजै जित निकाल्न सक्ने जनाउँदै अब आ–आफ्नो ठाउँबाट सबै एकढिक्का भएर निर्वाचनमा होमिनुपर्ने बताए । परिवर्तनका सम्बाहक युवा शक्ति भएको प्रष्ट्याउँदै गृहमन्त्री खाँणले गठबन्धन र काँग्रेसले सबै युवाहरुको सम्मान गर्ने दावी गरे ।

पाँच दलीय गठबन्धनका तर्फबाट प्रदेश सभा ३ (क)का उम्मेदवार लोसपा नेता सन्तोषकुमार पाण्डेयले बोल्नै नसक्ने र क्षेत्रमा नआउने नेताबाट विकास सम्भव नभएको बताउँदै राष्ट्रको विकासका लागि गृहमन्त्री खाँणको जित जरुरी रहेको बताए । ‘उहाँमा (खाँण) अब मुलुकको नेतृत्वसमेत गर्नसक्ने क्षमता छ, त्यो सम्भावना पनि छ’, पाण्डेयले भने, ‘त्यसैले खाँणले जिते मात्रै विकास सम्भव छ । उहाँलाई सबैले साझा उम्मेदवार सम्झेर मतदान गरी जिताउनुपर्छ । यसमा हामी सबै लागौं ।’ क्षेत्र नम्बर ३ (ख) का उम्मेदवार एवं नेपाली काँग्रेसका नेता रामचन्द्र ढकालले अहिलेको निर्वाचन प्रतिगमन र अग्रगमन पक्षधरबीचको भएको बताए । उनले तीन दलीय गठबन्धन पश्चगमन र प्रतिगामी भएको जिकिर गर्दै पाँच दली गठबन्धन अग्रगमन पक्षधर भएकाले यसको जित जरुरी रहेको जनाए । कार्यक्रममा बोल्ने तरुण युवाहरुले गठबन्धनलाई जिताउन आफूहरु एकढिक्का भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 
 
  
 

You may also like