निर्वाचन सफल पार्न सबै लागौंः गृहमन्त्री खाँण

by समतल अनलाइन

बुुटवल ।गृहमन्त्री बालकृष्ण खाँणले बर्तमान ब्यबस्थाप्रति केही असन्तुष्टि जाहेर गर्दै मूलधारको राजनीति भन्दा बाहिर रहेका दलहरुलाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् । उनले असन्तुष्टि जाहेर गर्ने अधिकार सवै नागरिक र दलहरुलाई भए पनि निर्वाचन विथोल्ने अधिकार भने कसैलाई नभएको स्पष्ट पारे ।

बुधबार बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले कुनै दल वा समूहका नाममा निर्वाचन खल्बल्याउने र जनताले आफ्ना नेता चुन्ने अधिकार खोसिदिने अधिकार कसैलाई नभएको भन्दै मूलधारको राजनीतिमा आउन समेत आग्रह गरे । उनले निर्वाचन सफल पार्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । ‘हामी मिल्नेसम्म लचक भएर असन्तुुष्ट दलहरुसँग सम्वाद र छलफल गरिरहेका छौँ’, उनले भने, ‘कतिपय मागहरु ऐन संशोधन बिना सम्वोधन गर्न सकिँदैन । सरकारले ऐन तर्जुमा गरेर भए पनि जायज माग सम्वोधन गरी असन्तुुष्ट समूहरुलाई मूलधारमा ल्याउने प्रयत्न गरिरहेको छ ।’

गृहमन्त्री खाँणले यो कुनै दल वा नेतालाई जिताउने र हराउने निर्वाचन मात्रै नभएर प्राप्त अधिकारको संरक्षण गर्ने र नागरिकको जीवनस्तर बदल्ने अभियान भएको पनि बताए । ‘जनताले आफ्नो अधिकार प्रयोग गरेर आफूले चाहेको दल र नेता जिताउने र उनीहरुको माध्ययमबाट प्राप्त अधिकार संरक्षण गर्ने, विकासको ढोका खोल्ने र जीवनस्तर फेर्ने अवसर हो,’ उनले भने, ‘त्यसैले कुनै दल वा समूहलाई निर्वाचन विथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार छैन ।’

उनले सरकार भयरहित, शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराउन प्रतिवद्ध भएको बताउँदै त्यसअनुसार जुट्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिए । ‘सबै नागरिक सुरक्षित होउन् । ढुक्कसंग मतदानस्थलसम्म पुगेर आफूले रोजेको व्यक्तिलाई मतदान गरेर फर्कन सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सुरक्षा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्नु ।’

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले नेपाल बहुजाती, बहुभाषी, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले सबै जातजाती, धर्म–समुदाय एकआपसमा मिलेर बस्नु आजको आवश्यकता भएको बताएका छन् ।

नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति रुपन्देहीद्वारा बुधवार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उमेदवार समेत रहेका खाँणले लोकतन्त्र र धार्मिक स्वतन्त्रता एक सिक्काका दुई पाटा भएको बताए ।

‘नेपाली कांग्रेस लगायतका पाँच दलीय गठबन्धनले धार्मिक स्वतन्त्रता र आर्थिक समानतालाई जोड दिएको छ’, खाँणले भने, ‘लोकतन्त्रमा धार्मिक स्वतन्त्रता भएमा नै बल्ल लोकतन्त्र मजबुत हुन्छ ।’ तर, अहिले पुरानै व्यवस्था र शासन चाहिन्छ भन्दै हिँड्ने पार्टी पनि रहेको उनले बताए ।

लोकतान्त्रिक गणतन्त्रबाट नै जनता मालिक बनेको उल्लेख गर्दै खाँणले गणतन्त्रको माध्यमबाट नेपाली नागरिकको अवस्था बदल्न र रोजगारी सिर्जना गरि नेपाली जनतालाई खुशीयालीमा बदल्न सक्नुपर्ने बताए । सवै धर्म समुदायको संस्कृतिको संरक्षणका लागि आवश्यक पूर्वाधार विकासका लागि स्थानीय, प्रदेश र संघ सरकारले लगानी गर्ने उनले बताए ।

‘सबै धर्म सम्प्रदायको आ–आफ्नो संस्कृति अनुरुप जीवनको अन्तिम संस्कारका लागि आवश्यक पर्ने घाट तथा कब्रस्तानलाई व्यवस्थित गर्ने दायित्व सरकारको हो’, खाँणले भने, ‘मुस्लिम समुदायको पनि सबै सहर र बस्तीमा कब्रस्तान व्यवस्थित बन्न जरुरी छ । कब्रस्तान व्यवस्थित नहुँदा मुस्लिम समुदायका मृतकलाई अन्तिम संस्कार गर्न समस्या भैरहेको छ । यसमा हामीले ध्यान दिन्छौं ।’

मुलुकमा शान्ति, सुशासन र स्थायित्वका लागि सबै जाति तथा समुदायबीच सहकार्य र एकताको आबश्यकता रहेको उनले बताए । सहकार्य र एकताका लागि साथ दिन खाँणले सबै नेपाली नागरिकलाई आग्रह पनि गरे । नेपालको सिमानामा बसोवास गर्ने जुनसुकै जाति समुदाय भए पनि उनीहरुले नेपाली भूमिको रक्षा गर्दै आएकाले असली सिमा रक्षक उनीहरु नै भएको उनले बताए । क्षेत्र नम्बर ३ (क) का उम्मेदवार सन्तोषकुमार पाण्डेयले सबै धर्म, जातजाति, वर्ग, समुदायको सम्मान गर्ने गठबनधन भएकाले निर्धक्क भएर जिताउन आग्रह गरे ।

 
 
  
 

You may also like