मतदातालाई घनश्यामको आग्रह: भोट माग्नेलाई प्रश्न गर्नुस् संविधानको पालना गर्छौ कि च्यातेर फाल्छौ ?

by समतल अनलाइन

बुटवल । त्रिभुज चुनाव चिन्ह लिएर रुपन्देही क्षेत्र नं. १ मा सत्तारूढ गठबन्धनको समर्थनमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका नेता घनश्याम भुसालले मतदातालाई प्रश्न गर्न अनुरोध गरेका छन् । विगतमा केही सांसदहरूले आफुले बनाएको कानुन र संविधानको रक्षा गर्नुपर्नेमा त्यसो नगरी संसद नै विघटन गर्ने काममा साथ दिएको भन्दै उनले उम्मेदवारहरूसंग संविधानको रक्षा गर्छौ कि गर्दैनौ भन्ने प्रश्न गर्न मतदातालाई आग्रह गरे ।

शनिबार निर्वाचन रोहिणी गाउँपालिकामा सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले जुनसुकै मुलुक विकासको पहिलो सर्त राजनीतिक स्थिरता भएको बताए । जनतालाई अधिकार सम्पन्न गराउँदै राज्यले आफ्नो कर्तव्यको बोध गरे मात्रै दिगो विकास हुनेमा उनको जोड थियो ।

“जनतालाई अधिकार सम्पन्न गराउन ७० बर्ष लाग्यो । अब संविधानमा लेखेका अधिकारलाई कार्यान्वयन गर्ने र विकासको दिशामा अगाडि बढ्नुपर्छ” उनले भने राजनीतिले व्यक्ति होइन शक्तिशाली समाज र सामाजिक संघसंस्थाहरू बलियो बनाउनुपर्छ । स्थानीय तहलाई थप अधिकार सम्पन्न गराउँदै स्रोतको व्यवस्थापन गर्नुपर्छ ।”

फरक प्रशंगमा बोल्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले दिएको जनमत र अधिकारलाई कमाई खाने भाडो बनाएको बताए । उनले भने, “ओली जीले एमाले राणा शाहिको गिरोह जस्तो भयो । ओलीले एकल निर्णयमा सारा कार्यकर्ताको भाग्यको फैसला गर्न थाल्नु भयो । लाखौं एमाले कार्यकर्ताको इज्जत, नाम, व्यक्तित्व सबै उहाँले खाईदिनुभयो ।”

आफुहरू संविधानको रक्षा र जनताको अधिकारको लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताउँदै उनले सिंगो देशलाई विकास निर्माणको दिशामा अगाडि लैजानुपर्नेमा त्यसो नगरी ओलीले मुलुकको ५ बर्ष बर्बाद गरेको उनको तर्क छ ।

सत्तारूढ गठबन्धनको आवश्यकता र औचित्यबारे आफ्नो धारणा राख्दै उनले कांग्रेस-माओवादी लगायतको गठबन्धन चुनावको मुखमा नभएर संविधानको रक्षाको लागि बनेको दाबी गरे । एमाले-राप्रपा लगायतको गठबन्धन चुनावको जीत र शक्ति आर्जनको लागि बनेको बताउँदै भुसालले जनताले पाँच दलिय गठबन्धन र उनीहरूले समर्थन गरेका उम्मेदवारलाई मतदान गर्नुपर्ने बताए ।

सोही क्रममा बोल्दै नेपाली कांग्रेसका नेता एवं क्षेत्र नं. १ (२) का उम्मेदवार अब्दुल रज्जाकले गठबन्धनबाट नै विकास र समृद्धि सम्भव भएको दावी गरे । आफू संविधान सभा सदस्य निर्वचित भएको बेला गरेका कामको चर्चा गर्दै उनले अबको आवश्यकता संविधानको रक्षा र पुर्वाधार एवं सामाजिक विकास भएको बताए ।

त्यसै गरी १(१) का उम्मेदवार विश्वनाथ यादवले आफुहरू धेरै नबोल्ने तर बोलेजती काम गरेर देखाउँने बताउँदै गठबन्धनलाई विजयी गराउन अनुरोध गरे ।

गठबन्धनका दलले शनिबारै रोहिणीको वडा नंं १, २ र ३, देवदहको ११ र १२ तथा ओमसतिया- ४ मा सम्पर्क कार्यालय स्थापना गरेका छन् । यी कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको निर्वाचन परिचालन समितिका संयोजक हिरा केसीले जानकारी दिए । केसीका अनुसार कात्तिक १६ गतेसम्म क्षेत्र नं. १ का ३३ वटै वडाहरुमा सम्पर्क कार्यालय स्थापना गरिने छ ।

रूपन्देही क्षेत्र नं. १ मा गठबन्धनका भुसालसंग नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्मा, स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईं लगायतका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।

 
 
  
 

You may also like