छठ पर्वको अवसरमा मुख्यमन्त्री पोखरेलको शुभकामना सन्देश

by समतल अनलाइन

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्य मन्त्री पोखरेलले स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भावको कामना गरेका छन् ।

समाजमा मनाईने पर्व र संस्कृतिले एकता, भातृत्व र मेलमिलापको वातावरण बनाइरहेको स्मरण गर्दै मुख्यमन्त्री पोखरेलले छठ पर्व पनि कुनै क्षेत्र र समुदाय विशेषको नभएर सबैको साझा बन्न पुग्नु सुखद विषय भएको बताएका छन् ।

यस्तो छ शुभकामना सन्देस

छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाल सांस्कृतिक विविधताले रंगिएको मुलुक हो । विभिन्न जाति र समुदायले मनाउने पर्व हाम्रा अमूल्य निधि हुन् । समाजमा मनाईने पर्व र संस्कृतिले एकता, भातृत्व र मेलमिलापको वातावरण बनाइरहेका छन् । कुनै समुदाय विशेषले मनाउने पर्व अहिले सबै नेपालीका साझा बन्दै गएका छन् । छठ पर्व पनि कुनै क्षेत्र र समुदाय विशेषको नभएर सबैको साझा बन्न पुग्नु हाम्रा लागि सुखद विषय हो ।
संसारका सम्पूर्ण भौतिक र प्राकृतिक विकास सूर्यमा आधारित रहेको पाइन्छ ।

सूर्यको प्रकाश विना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तुलगायत कसैको पनि अस्तित्व रहन सक्तैन् । सांस्कृतिक र धार्मिक विश्वासले सूर्यको आराधना र उपासना गर्नु बैज्ञानिक दृष्टिले पनि उपयुक्त छ । छठ पर्वले मान्छेले प्रकृतिप्रति गर्दै आएको श्रद्धा र स्नेह उजागर गर्दै आएको छ । प्रकृतिलाई श्रद्धा र स्नेह गरी अघि बढ्न सक्दा मात्रै मानव जाति सहित सबै जीवजन्तु र प्राणीको संसारमा अतित्व रहन सक्छ ।

ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि यतिवेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयन गर्दै अघि बढेका छौ । संविधानतः संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएपछि नागरिक विकास र समृद्धिको व्यग्र प्रतीक्षामा छन् । तीनै तहमा निर्वाचन मार्फत राजनैतिक नेतृत्व स्थापित भएपछि संघीयताको राजनीतिक आधारशीला खडा भएको छ । प्रशासनिक र वित्तीय संघीयता कार्यान्वयन गर्दै संघीयताको व्यवहारिक कार्यान्वयन तीब्र गतिमा भइरहेको छ । मुलुकबाट अव छिटो भन्दा छिटो रोग, भोक, अशिक्षा र बेरोजगारी अन्त्य गर्दै समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा मुलुक अघि बढिरहेको छ ।

हामी प्रदेशको विकास र समृद्धिका माध्यमवाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका छौं । विकास र समृद्धिको बाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने हाम्रो लक्ष्य हो । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका छौं । समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु ।
अन्त्यमा, छठ पर्वको अवसरमा पुनः सबैमा हार्दिक शुमकामना ।

शंकर पोखरेल
मुख्यमन्त्री (प्रदेश न ५ )
मिति २०७६ कार्तिक १६

बुटवल

 
 
  
 

You may also like