‘डन आयो डन’ पनि दर्शकले रुचाउनुभएको छ: दुर्गेश थापा

by समतल अनलाइन

काठमाडौं । ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत बजारमा ल्याएपछि विवादमा तानिएका मोडल तथा गायक दुर्गेश थापा फेरि नयाँ गीतको तयारीमा जुटेका छन् । तीजमा ‘बिच्च बिच्चमा’ गाएर भाइरल भएपछि दुर्गेश थापा धेरैको रोजाइमा परे ।

‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतले भने उनलाई विवादमा ल्यायो । गीतमा गाँजा सेवन गर्न उत्साहित गरेको भन्दै प्रहरीमा उजुरी परेपछि उनले उक्त गीत युट्युबबाट हटाए । गीतमा भएका शब्द हटाएर उनले पुनः सो गीतलाई ‘डन आयो डन’ बोलमा अपलोड गरे ।

यो गीत पनि दर्शकले मन पराएको दुर्गेशले बताएका छन् । गीतलाई झण्डै २५ लाखले हेरिसकेका छन् । पहिलेको गीत पनि ३० लाखले हेरेको दुर्गेशले बताए । ‘तिहारमा पनि यो गीत खुबै बज्यो, कतिले त भिडियो बनाएर पनि मलाई पठाउनुभएको छ, शब्द काँटछाँट गरेर अपलोड गरिएको गीत पनि दर्शकले मन पराउनुभएको छ,’ दुर्गेशले भने ।

साथै उनले तीनवटा गीत तयारी अवस्थामा रहेको र एउटा गीत लगत्तै सार्वजनिक गर्ने पनि बताए । ‘गीत त तयार छन्, अब दर्शकको माग अनुसार कुन गीत पहिले सार्वजनिक गर्ने भन्नेमा छलफल गर्दैछौं,’ उनले सुनाए ।

 
 
  
 

You may also like