अदालतमा महराको बयान सकियो, थुनछेक बहस आइतबार हुने

by समतल अनलाइन

काठमाडौं– महिलामाथि जबरजस्ती करणी उद्योग (प्रयास) गरेको अभियोग लागेका पूर्व सभामुख कृष्ण बहादुर महराको अदालती बयान सकिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराविरुद्ध बिहीबार अभियोग पत्र दायर गरेकोमा शुक्रबार बिहानदेखि महराको अदालती बयान शुरु गरिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलाशमा महराको बयान लिइएको हो । बन्द इजलाशमा बयान लिइएकाले बयानको विषय भने सार्वजनिक गरिएको छैन ।

महराको पक्षका कानून व्यवसायीले भने आफूमाथि लागका आरोपबारे महराले अदालतमा इन्कारी बयान दिएका छन् । प्रहरीको झण्डै १ महिने अनुसन्धानपछि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार महराविरुद्ध जबरजस्ती करणी उद्योगको अभियोगमा मुद्दा दायर गरेको थियो । महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएकी थिइन् ।

सरकारी वकिलले महराविरुद्ध जबरजस्ती करणी उद्योगमा अधिकत्तम ५ वर्ष र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा थप २ वर्ष ६ महिना गरी ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गरेको छ ।

शुक्रबार बयान लिने काम सकिएपनि थुनछेक बहस भने आइतबार मात्रै हुने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञान बहादुर कार्कीले खबरहबलाई जानकारी दिए ।

कार्कीका अनुसार महरालाई आइतबार बिहान १० बजे उपस्थित गराउने गरी पुनः थुनामै पठाइएको कार्कीले जानकारी दिए ।

 
 
  
 

You may also like