देवदहमा ८२ फुट भित्रका ठेला र अबैध संरचना हटाईदै

by समतल अनलाइन

देवदह । रुपन्देहीको देवदह नगरपालिकाले सडक किनारमा राख्ने अव्यवस्थित ठेला हटाउने भएको छ । देशव्यापी रुपमा सडक अतिक्रमण गरी राखिएका ठेलाहरु हटाउने अभियान सुरु भएपछि देवदह नगरपालिकाले पनि आफ्नो कार्यक्षेत्र भित्र रहेको मुख्य सडकको (हाइवे) ८२ फुट भित्र रहेको ठेलाहरु हटाउने निर्णय कार्यपालिका बैठकले गरेको नगरप्रमुख धुब्र खरेलले जानकारी दिए ।

‘हामी एकै पटक एक्सनमा जाँदैनौं । सुरुमा व्यापारी र व्यवसायीक संघ संस्थाहरुसंग छलफल गरेपछि संरचना हटाउने छौ । त्यसका लागि केही समय लाग्छ ।’ नगरप्रमुख खरेलले भने । सडक किनारमा रहेका ठेला, निर्माण सामाग्री सहित सडक भित्र रहेका सवैप्रकारका सामाग्री हटाउन व्यवसायीहरु संग छलफल गरेर सूचना प्रकाशित गर्ने उनले बताए ।

पैदलयात्रीका लागि छुटटाइएको फुटपाथमा समेत व्यापारीहरुले व्यापार गर्ने गरेको गुनासो बढेपछि नगरपालिकाको कार्यपालिकाको बैठकबाट त्यस्ता ठेला र संरचना हटाउने निर्णय भएको नगरप्रमुख खरेलको भनाई छ । ‘बुटवल नारायण सडक आयोजनाले निर्माण बिस्तार गर्ने क्रममा रहेको छ । चाडपर्वमा सडकमा भिडभाड, सडकनै कुरुप र दुर्घटनाको जोखिम रहेको हुँदा व्यवसायीलाई सडक खाली गर्न हामीले अनुरोध गरेका छौ । नगरपालिकाको निर्णय कार्यान्वयनमा नगरबासी जवाफदेही बन्नुपर्छ । उहांहरुलाई हाम्रो विनम्रताका साथ अनुरोध छ कि तपाईहरुले सडक खाली गरिदिनुहोस ।’

त्यस्तै कार्यपालिकाको बैठकले १० गते नगरअस्पतालको उद्घाटन गर्ने पनि निर्णय गरेको छ । अस्पतालकै लागि भनेर निर्माण गरिएको भवन अझै पुरा नभएकाले खैरेनीमा रहेको स्वास्थ्य चौकीबाट १० बेडको अस्पताल शुभारम्भ गर्न लागिएको उनले बताए । नयाँ भवन निर्माण सम्पन्न भएपछि भने विशेषज्ञ चिकित्सक सहित १५ बेडमा अस्पताल सुरु हुनेछ । बैठकले ११ सदस्यीय नगर अस्पताल संचालन तथा ब्यवस्थापन समिती गठन गर्ने निर्णय पनि गरेको छ ।

 
 
  
 

You may also like