तराईमा छठ पर्व सुरु

by समतल अनलाइन

इरफान अलि
बीरगञ्ज । निष्ठा र कठोर ब्रत लिएर मनाइने हिन्दु धर्मावलम्बीहरुको साझा सांस्कृतिक प्रतिविम्बको चाड छठ पर्व विहिवारबार देखि विधिवत सुरु भएको छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाडका रुपमा रहेको छठ पव बिहिवारबाट विधिवतरुपमा सुरु भएको हो ।

कात्तिक शुक्ल पक्षमा चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन अर्थात् विहिबारको दिनलाई नहाए खाए (नुहाउने खाने) दिन पनि भन्ने गरिन्छ । छठ पर्बको पहिलो दिन विहिबार छठका व्रतालुले खोला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा नुहाइ धुवाई गरेर शुद्ध भइ बिहान र बेलुकी लसुन र प्याज नभएको चोखो शाकाहारी खाना खाने गर्छन् ।

छठको दोश्रो दिन शुक्रवार अर्थात् पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ । खरनाका दिन व्रतालु दिनभरि निर्जला व्रत बस्छन् र साँझपख नुहाएर चोखो हुँदै आफ्नो कुल देवताको पूजा कोठामा माटोको नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको (सख्खर) खीर (रसीआव) तथा गहँुको रोटी प्रसादका रुपमा पकाउँछन् ।

उक्त प्रसाद अर्थात् रसीआव रोटी चन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि ब्रतालु उक्त प्रसाद ग्रहण गरेर निर्जला ब्रत बस्छन् ।

तराईमा छठ पूजाको तयारी तिब्र

पर्सा बारा लगायत तराईका जिल्लामा छठ पूजाको तयारी भइराखेको छ । कात्तिक १६ गते शनिबार परेको छठ पूजाका लागि मध्य तराईका जिल्लामा छठी घाटमा सरसफाई, सजावट र व्यवस्थापनका काम तिब्र बनाइएकोछ । वीरगन्जको घडीअर्वा पोखरी, स्वीमीङ पुल परिसर, रानीघाट, छपकैया, नगवा, मुर्ली, पिपरा गरि दुई दर्जन भन्दा बढी स्थानमा छठघाट बनाइएको छ ।

यस्तै पर्साको ग्रामीण क्षेत्रका रामगढवा, पोखरीया, बहुअरी, भिस्वा, लंगडी, सेढवा, धोरे, विन्दवासीनी लगायतका गाँउमा रहेका पोखरी, तलाउ र नदी छेउमा पनि छठघाटको सजावटको काम भइरहेको छ ।

मुलुकमै छठपूजाका लागि ख्याती कमाएको वीरगन्जको घडीअर्वा पोखरी परिसरमा छठघाट सजाउने काम विशेष रुपमा भइरहेको छ ।

घडीअर्वा पोखरी छठघाटमा पन्डाल, बिजुलबत्ती र फूलको सजावटमा मात्रै यसपाली १५ लाख ५० हजार रुपैयाँ खर्च गरिएको घडीअर्वा छठपूजा व्यवस्थापन समितिका सचिव मनोहर साहले बताए । विगतका वर्षहरु भन्दा यसपाली अझ व्यवस्थित र सुन्दरतका साथ छठघाटलाई सजाउने काम भइरहेको सचिव साहले बताए ।

घडीअर्वा छठघाटमा शनिबार साँझ र आइतबार बिहान गरि करिब दुई लाख ५० हजार भक्तजन र दर्शनार्थी आउने अनुमान गरिएको समितिका अध्यक्ष प्रेम साह कानुले बताए । छठका ब्रतालु मात्रै चार हजार दुई सय जति यहा आएर छठी माता र सूर्य भगवानको पूजाअर्चना गर्छन ।

छठपूजाका दिन घडीअर्वा छठघाटमा आउने भक्तजन र दर्शनार्थीको सुरक्षाका लागि नेपाल प्रहरी सशस्त्र प्रहरी र घडीअर्वा स्पोटर्स क्लबका स्वयंसेवक परिचालन गर्ने गरि योजना बनाइएको पर्साका प्रहरी नायब उपरिक्षक गौतम थापाले जनाए । घडीअर्वा छठको चार वटै प्रवेशद्वारमा गरि आठ वटा सिसिटिभी क्यामेरा जडान गरिने उनले जानकारी दिए ।

 

 
 
  
 

You may also like