तिलोत्तमाका बेमैसमी वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति वितरण

by समतल अनलाइन

बुटवल । तिलोत्तमा नगरपालिकामा बेमैसमी वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति वितरण गरिएको छ । गत वर्ष धान भित्राउने बेलामा आएको बेमैसमी वर्षाका कारण धान बालिमा क्षति पुगेका नगरभित्रका २७० किसानले मंगलबार क्षतिपूर्ति रकम पाएका छन् । राहत रकम स्वरुप पीडित किसानहरुलाई ८ लाख ९६ हजार ७४१ रुपैँया रकम वितरण गरिएको छ । पीडित किसानले आफ्नो क्षतिको आधारमा २ हजार १० देखि ८ हजार ४८८ रुपैँयासम्म क्षतिपूर्ति रकम पाएका छन् ।

भदौ १० गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार सुचिकृत पिडित किसानहरुलाई क्षतिपूर्ति रकम वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाँणले किसानहरुका समस्यालाई हल समाधान गर्नका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । धानबालि भित्राउने बेलामा वर्षाका कारण धान बालिमा क्षति पुगेका किसानलाई केही मात्रामा भए पनि राहत पुगोस् भनेर संघ सरकारसँग समन्वय गरी पीडित किसानलाई पहिलो किस्ताको वाफतको राहत रकम वितरण गरिएको र बाँकी रकमका लागि पनि आफूले पहल गरिरहेको बताए ।

साथै नगरप्रमुख खाँण यो वर्ष पनि समयमै पानी नपर्दा किसानको धानबालि सुकेर क्षति भएका किसानलाई पनि राहत वितरण गरिने बताए । किसानहरूले लगाएको बालि पहेँलो हुने, कुहिने लगायतका समस्या देखिएको गुनासो आएसँगै रोगको पहिचानसहित उपचारको प्रबन्ध मिलाउनको लागि बालि शिविर गरि सकिएको र दशैँ लगत्तै नगरभित्र के कति बालिमा क्षति भएको छ सो विवरण संकल्न गर्न लागि समिति गठन गर्ने तयारी रहेको बताए ।

राहत रकम वितरणका लागि निम्न वर्ग, मध्यम वर्ग र उच्च वर्ग गरी तीन भागमा विभाजन गरी सोको आधारमा राहत रकम वितरण गरिएको नगरपालिका कृषि अधिकृत दोमलाल भुसालले बताए । १० कट्ठासम्म धानबालि भएका किसानलाई निम्न, ११ देखि ५० कट्ठासम्म खेति गरेकालाई मध्य र सो भन्दा माथि धानबालि लगाएका किसानलाई उच्च वर्ग भनि विभाजन गरेको थियो ।

निम्न वर्गका किसानलाई क्षतिको ६५ प्रतिशत, मध्यम वर्गका किसानलाई ३० प्रतिशत र उच्च वर्गका किसानलाई क्षतिको २० प्रतिशतसम्म राहत रकम प्रदान गरिने कृषि अधिकृत भुसालले बताए । राहत रकम लागि २७० किसानले फर्म भरेको र ती सबै किसानलाई राहत रकम प्रदान गरिएको कृषि अधिकृत भुसालले बताए ।

 
 
  
 

You may also like