अफगानिस्तानलाई हराउँदै पाकिस्तान फाइनलमा, भारत बाहिरियो

by समतल अनलाइन

काठमाडौं । एसिया कप टी-२० क्रिकेटको सुपर चारमा गए राति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेको छ । पाकिस्तान विजयी भएसँगै एसिया कप क्रिकेटको उपाधि दाबेदार मानिएको भारत सुपर चारबाटै बाहिरिएको छ । पाकिस्तानले अफगानिस्तानलाई एक विकेटले हराउँदै फाइनलमा पुगेको छ ।

पाकिस्तानसँगै श्रीलङ्का पनि फाइनल पुगेको छ । अफगानिस्तानसँगको खेलमा जितका लागि पाएको १ सय ३० रनको लक्ष्य पाकिस्तानले १९ ओभर २ बलमा ९ विकेट गुमाउँदै भेट्टायो । पाकिस्तानलाई अन्तिम ६ बलमा ११ रन चाहिएको थियो ।

नसिम शाहले पहिलो र दोस्रो बलमा लगातार छक्का हानेपछि पाकिस्तानले रोमाञ्चक जित हात पार्‍यो । उनले अविजित १४ रन जोडे । त्यस्तै पाकिस्तानका सादाब खानले ३६, इफ्तिखर अहमदले ३०, मोहम्मद रिजवानले २० तथा आसिफ अलिले १६ रन बनाए ।

अफगानिस्तानका फैजल फारुकी र फरिक अहमदले समान ३/३ विकेट लिए । राशिद खानले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।

अफगानिस्तानका इब्राहिम जाड्रानले ३५ तथा हर्जलुल्लाह जाजइले २१ रन बनाए । पाकिस्तानका हरिस राउफले २ विकेट लिए । निसम शाह, मोहमद हसनेन, सादब खान र मोहमद नवाजले १/१ विकेट लिए । भारत सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा भारत श्रीलङ्कासँग ६ विकेटले पराजित भएको थियो ।

एसिया कपबाट बाहिरिएका भारत र अफगानिस्तानबीच आज खेल हुनेछ । विजयी टोलीको दुई अङ्क मात्र हुनेछ । पाकिस्तानले अन्तिम खेलमा भोलि श्रीलङ्कासँग खेल्ने छ । उपाधिका लागि आइतवार श्रीलङ्का र पाकिस्तान खेल्ने छन् ।

 
 
  
 

You may also like