भलवारीमा बृहत् लाखे नाच, नेवारी संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड

by समतल अनलाइन

भरत प्रधान
तिलोत्तमा । हरितालिका तीजको अवसर पारेर रुपन्देहीको भलवारीमा पहिलोपटक नेवारी परम्परा अनुसार बृहत् लाखे जात्रा प्रदर्शन गरिएको छ ।

नेवारी कला र संस्कृतीको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उद्धेश्य अनुरुप स्याङजा तीनदोबाटे नेवाः खल रुपन्देहीको आयोजनामा मंगलबार भलवारी चोकमा भब्य रुपमा लाखे नाच प्रदर्शन गरिएको हो । स्याङजा तीनदोबाटेबाट बसाई सरि रुपन्देही र नवलपरासीमा बसोबास गर्दै आएका नेवार समुदायको सकृयतामा स्याङजा तीनदोबाटेको लाखेनाच भलवारीमा प्रदर्शन गरिएको हो ।

लाखे जात्राको एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले ढोलक र झ्याली बजाएर शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा बोल्दै नगरप्रमुख खांणले नेवारी कला, परम्परा र संस्कृतीको जगेर्नाका लागि यस्ता खालका सांस्कृतीक गतिविधीको महत्वपूर्ण भूमिका रहने धारणा ब्यक्त गर्नुभयो । यस्तै नगरपालिकाका उपप्रमुख जागेश्वरी देबी चौधरी, तिलोत्तमा–७ का वडाअध्यक्ष देवीलाल पंगेनी लगायतले बोल्दै परम्परागत लोक संस्कृतीको संरक्षण र प्रबर्द्धनका लागि यस्ता खालका सांस्कृतीक गतिविधीलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा गल्याङ–८ का निवर्तमान वडा अध्यक्ष भेक प्रसाद श्रेष्ठले नेवारी कला, संस्कृती र लाखे नाचका बिषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य गंगा शाही, खलका ज्येष्ठ सदस्य नेत्रलाल श्रेष्ठ, क्याप्टेन अमर बहादुर श्रेष्ठ, धन प्रसाद श्रेष्ठ, थम नारायण श्रेष्ठ, कृष्ण बहादुर श्रेष्ठ, श्याम प्रसाद श्रेष्ठ, चन्द्रमान श्रेष्ठ, सुवर्ण श्रेष्ठ, यम नारायण श्रेष्ठ लगायतको सहभागीता रहेको थिगो ।

खलका संयोजक जेश कुमार श्रेष्ठको घरआंगनबाट शुरु गरिएको जात्रा ढोलक र झ्याली बजाउंदै, नेवारी परम्परा, जातीय भेषभूषा र झांकी सहित भलवारी चोकमा पूगेपछि बृहत् लाखे नाच प्रदर्शन गरिएको थियो । ढोलक र झ्यालीको तालमा ताल मिलाएर नाचेका लाखे र जोगियाको प्रस्तुती हेर्दै दर्शकहरु मन्त्रमूग्ध भएका थिए । लाखे र जोगीयाको स्वरुपमा प्रस्तुत भएका कलाकारहरुले दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन प्रदान गरेका थिए । लाखेजात्रा हेर्न भलवारी लगायत सो क्षेत्रका दर्शकहरुको भिड लागेको थियो । दिउंसो ४ बजेबाट शुरु भएको लाखे नाच राती ८ बजे सम्म प्रस्तुत गरिएको थियो । जात्रामा नेवार समुदायका अग्रज तथा युवाहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

भलवारी निवासी जेश कुमार श्रेष्ठको बिशेष पहल तथा युवाहरु बिजय श्रेष्ठ, किरण कुमार श्रेष्ठ, राजु श्रेष्ठ, बिनोद श्रेष्ठ, कुमार राजभण्डारी, राजेन्द्र श्रेष्ठ, राजकुमार श्रेष्ठ लगायतको सकृयतामा लाखे जात्रा प्रदर्शन गरिएको हो । भलवारीमा पहिलोपटक आयोजना गरिएको लाखेनाच ऐतिहासिक भएको संयोजक जेश कुमार श्रेष्ठले बताउनुभयो । नेवारी कला संस्कृतीको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उद्धेश्य अनुरुप लाखेजात्राको आयोजना गरिएको संयोजक श्रेष्ठले बताउनुभयो । मूलतः स्याङजा तीनदोबाटेबाट बसाई सरि रुपन्देही र नवलपरासी आएका नेवारहरुलाई लाखेको माध्यमबाट एक सुत्रमा बाँध्ने र नेवारी संस्कृती, सभ्यता र चिनारीलाई जगेर्ना गर्ने हाम्रो उद्धेश्य हो,–श्रेष्ठले भन्नुभयो ।

कार्यक्रम खलका संयोजक जेश कुमार श्रेष्ठको अध्यक्षता, स्मिता श्रेष्ठको स्वागत तथा किरण कुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

लाखे नाच नेवार समुदायले बिशेष पर्वको रुपमा लाखेको मुखुण्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । नाग पञ्चमीको दिन देखि शुरु हुने लाखे जात्रा ऋषि पञ्चमीको दिन बिधीपूर्वक पूजाअर्चना गरि बिसर्जन गरिन्छ । राक्षसको स्वरुपमा खोपा र रङीबिरङगी वस्त्रसहित ब्यक्तिलाई सिंगारेर लाखे नचाउने प्रचलन परापूर्वकाल देखि नेवार समुदायमा रहंदै आएको छ ।

 
 
  
 

You may also like