जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनको तयारीमा

by समतल अनलाइन

बुटवल , रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नं ४ डिंगर नगर स्थित श्रृंगेश्वर धाम परिसरमा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आउने भएको छ ।

करिब एक बिघा क्षेत्रफलमा साढे २ तले भवन र अन्य संरचनाहरु तयार भएपछि आउंदो २ महिनापछि निशुल्क रुपमा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आउन लागेको हो ।
शुरुवाती चरणमा ७० वर्ष नाघेका २५ महिला र २५ जना पुरुषलाई बिहान ११ बजेदेखि सांझ ४ बजेसम्म राख्ने तयारी भएको छ । शुरुमा ५० जनाबाट शुरु गरी सय जना हुंदै सरकारबाट जग्गा प्राप्त भएमा भविष्यमा एक हजार जनासम्म राख्ने लक्ष्य रहेको छ ।
केन्द्रलाई जेष्ठ नागरिकको संरक्षण केन्द्रको रुपमाविकास गर्ने,जेष्ठ नागरिकलाई तनाव मुक्त बनाउन मनोरन्जन,सत्संग ध्यान योगागायतका सेवा दिइने सचिव हरिप्रसाद कंडेलले बताउनुभयो ।

केन्द्रका कार्यवाहक अध्यक्ष यदुनाथ पाण्डेले आउदो २ महिनापछि केन्द्र सञ्चालनमा आउने र केन्द्रमा आउन जान निःशुल्क यातायातको व्यवस्था गरिने बताउनुभयो । भविष्यमा जेष्ठ नागरिक अस्पताल समेत बनाउने लक्ष्य रहेको पाण्डेले बताउनुभयो ।

केन्द्रका संरक्षक ऋषि भण्डारीले केन्द्र सञ्चालनका लागि मासिक ५ लाख खर्च हुने भएकाले एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य रहेको भन्दै पुण्य कार्यमा सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

श्रृंगेश्वर धाम र जेष्ठ मिलन केन्द्रका पदाधिकारी, सदस्य र विभिन्न चन्दा दाताको करिब ५ करोड लगानीमा धाम र जेष्ठ नागरिक मिलन केन्द्र बनेको हो । धाममा पशुपतिनाथ लगायतका मन्दिरहरु, बर पिपल र स्वामीका रुखको हरियाली युक्त चौतारी, ६८ फिट अग्लो त्रिशुल, पानीको फोहरा,बाल उद्यान,कार्यालय भवन लगायतका संरचनाहरु छन् ।

केन्द्रलाई भविष्यमा एक हजार जनाक्षमताको बनाई प्रदेशकै नमूनाबनाउन स्थानीय, प्रदेश र संघीय सरकारले जग्गा र वजेट उपलब्ध गराउनध्यानजान जरुरी छ ।

 
 
  
 

You may also like