संक्रमणकालीन न्यायासम्बन्धी विधेयक संसदमा टेबुल

by समतल अनलाइन

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) विधेयक-२०७९ प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ ।

मंगलबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले उक्त विधेयक प्रस्तुत गरेबा हुन् । विधेयक प्रस्तुत गर्दै कानुनमन्त्री कोइरालाले माओवादीको सशस्त्र द्वन्द्वका क्रममा मारिएका परिवार र घाइतेलाई राहत प्रदान गर्नका साथै समाजमा मेलमिलाप कायम गर्न ल्याइएको विधेयकलाई सरकारले अघि बढाउन लागेको जानकारी दिए ।

द्वन्द्वपीडितलाई प्राथमिकतामा राखेर कानुन बनाउन विभिन्न सुझावहरु प्राप्त भएकाले आवश्यक सुझावहरुलाई समावेश गरेर संशोधन गर्न विधेयक तयार गरिएको उनको भनाइ छ । संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुराउनका लागि विधेयकलाई सदनमा पेस गरिएको उनले बताए ।

त्यसअघि, उक्त प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले गरेको विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक भाद्र १३ गते बोलाइएको छ ।

 
 
  
 

You may also like