काठमाडौं।प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच कुनै दूरी बढेको भन्ने कुरा सत्य नभएको बताएका छन् ।
अर्का अध्यक्ष प्रचण्ड र आफूबीच बरु दूरी घट्दै गएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका ओलीले आफू र प्रचण्डबीच कुनै दूरी बढेको अवस्था नरहेको बताए ।
सञ्चारकर्मीहरुले प्रचण्डले स्वर्गीय नेता मदन भण्डारी र आफ्नो ओरिजिन एउटै भएको भनेर गरेको तुलनाबारे राखेको जिज्ञासमा ओलीले त्यसो हो भने दूरी बढेको नभइ घटेको भन्नुपर्ने बताए ।
‘उहाँले आफूलाई मदन मण्डारीसँग तुलना गरेको त मैले सुनेको छैन । यदि त्यसो हो भने पनि दूरी बढेको हैन, घटेको भन्नुपर्ला,’ ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘हामीबीच कुनै पनि प्रकारको दूरीको अवस्था पनि छैन, र सम्भावना पनि छैन ।’