अबको निर्वाचनपछि बिलिन हुन्छ भनेर एमालेले हल्ला फैलायो : नेपाल

by समतल अनलाइन

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको निर्वाचनपछि बिलिन हुन्छ भनेर एमालेले हल्ला फैलाइरहेको बताएका छन् ।

आज (शनिबार) एकीकृत समाजवादी उपत्यका युवा विशेष जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफूहरूले बामपन्थी शक्तिहरूलाई एकतावद्ध गर्नका लागि हात अघि बढाएको भन्दै अरु दलसँग बिलिन हुने अवस्था नरहेको बताए ।

स्थानीय निर्वाचनमा आफ्नो पार्टीलाई आएको मतदेखि डराएर समाजवादी अन्य पार्टीसँग बिलिन हुने एमालेले हल्ला चलाएको र त्यसमा कुनै सत्यता नरहेको उनले बताए । उनले एमालेले फालेको झुटको पुलिन्दालाई एकीकृत समाजवादीले काउण्टर जवाफ दिनुपर्ने बताएका छन् । अध्यक्ष नेपालले गठबन्धनकै कारण स्थानीय निर्वाचनमा आफ्नो पार्टीले उल्लेख्य सफलता प्राप्त गरेकाले अबको निर्वाचनमा पनि गठबन्धनसँगै अघि बढ्ने जिकिर गरे ।

उनले केही नेताहरूका कारण पार्टीप्रति जनताको वितृष्णा पैदा भइरहेको भन्दै जनताको हितमा काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन् ।

अध्यक्ष नेपालले भने, ‘अहिले पनि मसँग खवर आइरहेका छन-केपी ओलीसँग बस्न सकिदैन भन्दै कतिपय मानिसहरुले सम्पर्क गरिरहेका छन । यही चुनावमा पनि हामी एकीकृत समाजवादीमा आएर चुनाव लडन चाहन्छौं भनिरहेका छन । त्यसो हुनाले एमालेसँग जाने कल्पनानै गर्न सकिदैन । जुन पार्टीले हाम्रो अस्तित्व स्वीकार गर्दैन । जसले हामीलाई अपराधी घोषणा गरेको छ । जसले हामीले देशद्रोही भनेको छ । त्यस्ता नेताप्रति कुनै किसिमले पोजेटिभ कुराको प्रचारप्रसार कसैले पनि नगर्नू होला । गर्नु हुन्छ भने कुरा विग्रन्छ म क्लियर गर्न चाहन्छु । त्यस्ता कुराहरुमा लाग्न जरुरी पनि छैन । बरु खण्डन गर्ने, सिधै मुखभरीको जवाफ दिने । मुखभरीको जवाफ दिनु भएन भने रक्षात्मक भइन्छ । त्यस्ता मान्छेले केही पनि गर्न सक्दैन ।’

 
 
  
 

You may also like