मंसिर ४ मा चुनाव गर्न सत्ता गठबन्धन दल सहमत

काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् । अब भोलि (बिहीबार) बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् । सत्तारुढ पाँच दलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो । बैठकमा सहभागी एक नेताले भने, ‘‘मंसिर ४ मा चुनाव गर्ने सहमति भएको छ, भोलिको क्याबिनेटले मिति घोषणा गर्छ ।’

नेताहरुका अनुसार चुनाव घोषणापछि पनि संसद कायमै रहने गठबन्धनका नेताहरुको बुझाइ छ । ‘चलाउने कि नचलाउने अलग कुरा हो, तर हाउस रहन्छ’, गठबन्धनका एक नेताले सुनाए, ‘संसद चलाइराख्न धेरै रुचि छैन । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेपछि अधिवेशन अन्त्य हुन्छ होला ।’

 
 
  
 

You may also like