उपत्यकाका पोलमा टाँगिएका तार भूमिगत गरिने

by समतल अनलाइन

काठमाडौँ । काठमाडौँ उपत्यका लगायत शहरी क्षेत्रमा टेलिफोन तथा अन्य दूरसञ्चार सेवा प्रदायकको तारले कुरुप बनाएको छ । आगलागीको जोखिम पनि उत्तिकै बढेको छ ।

फाइल तस्बीर

दुर्घटनालाई टार्न सकिँदैन, तर झोल्लिएका तारका कारण दैनिकजसो नै पैदलयात्री समस्यामा पर्ने गरेका छन् ।

सवारीसाधन तथा दैनिक जीवन यापनमा समेत अव्यवस्थित तारले हैरान पारेको छ । शहरी सौन्दर्यसमेत बिग्रिएको छ । संसारका धेरैजसो देशमा अस्तव्यस्त रुपमा विद्युत् र टेलिफोनका तार देखिँदैनन्, तर हाम्रो देशमा भने सेवा दिने नाममा शहरी क्षेत्र कुरुप बन्दै गएपछि सरकारले त्यसलाई नियन्त्रण गर्ने भएको छ ।

शहरी क्षेत्रमा समस्या पैदा भएको र सौन्दर्यमा समेत समस्या भएको भन्दै सरकारले पहिलो चरणका काठमाडौँ उपत्यकाका १५ स्थानमा नमूना परियोजनाको रुपमा टेलिफोन, इन्टरनेट सेवा प्रदायको तार भूमिगत गर्ने भएको छ ।

मन्त्रिपरिषद्को यही कात्तिक ५ गते बसेको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

मन्त्री बाँस्कोटाका अनुसार पहिलो चरणमा विमानस्थल, कलङ्की, सिनमङ्गल, पुतलीसडक, सिंहदरबार हुँदै थापागाउँ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, त्रिपुरेश्वर हुँदै महाराजगञ्ज, विमानस्थलदेखि कलङ्कीसम्म, सिंहदरबार पुतलीसडकको क्षेत्रमा रहेका अव्यवस्थित टेलिफोनका तार तथा अन्य सेवा प्रदायकको तार भूमिगत गर्न लागेको हो ।

सरकारले ती स्थानका तार भूमिगत गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । एउटै खम्बामा दर्जनौँ संस्थाका तार रहँदा आगलागीको खतरा बढेको तथा पैदलयात्रुसमेत जोखिममा परेको एवं नजिकका घरधनीलाई समेत समस्यामा पारेको वास्तविकतालाई आत्मसात् गरेर तार भूमिगत गर्न लागिएको सरकारको बुझाइरहेको छ ।

मन्त्री बाँस्कोटाका अनुसार पहिलो चरणमा काठमाडौँ उपत्यकाका १५ स्थानमा नमूना परियोजनाका साथ काम शुरु गर्न प्राधिकरणलाई निर्देशन दिएको र क्रमशः देशव्यापी रुपमा नै तार भूमिगत गरिनेछ ।

त्यसो छ प्राधिकरणले गत भदौ ११ गते नै इन्टरनेट सेवा प्रदायक, केबुल अपरेटर तथा अन्य सङ्घ÷संस्थाले टेलिफोन तथा बिजुलीको खम्बामा अव्यवस्थित हिसाबले राखिएका तार व्यवस्थित गर्न निर्देशन दिएको थियो ।

शहरको सुन्दरतामै असर पर्ने गरी तार झुण्डाउने तथा सडक पार गराउनेलगायतका कार्य गर्दा शहरको सुन्दरतामा असर पुग्नुको साथै आगलागीसमेत भई गम्भीर दुर्घटना भइरहेको प्राधिकरणको भनाइ थियो ।

प्राधिकरणले शहरलाई सुन्दर राख्न तथा आम नागरिकलाई सुरक्षित एवं व्यवस्थितरुपमा सेवा जडान गराउन यसरी अव्यस्थित, असुरक्षित तथा शहरलाई नै कुरुप बनाउने गरी जडान भएका तथा सडक पार गराएका तारलाई दशैँअगावै व्यवस्थापन गर्न प्राधिकरणले निर्देशन दिएको थियो तर, सेवाप्रदायकले प्राधिकरणको उक्त निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन नगरेको पाइएको छ ।

प्राधिकरणले आफ्नो सूचनाको अवज्ञा गरी अव्यवस्थित रुपमा तार टाँग्ने वा तारलाई सडक पार गराइएको पाइएमा त्यस्ता व्यक्ति तथा सङ्घ–संस्थालाई जिम्मेवार बनाई आवश्यक कानूनी कारवाही गर्नुका साथै सम्बन्धित निकायबाट त्यस्ता संरचना तत्काल हटाइने चेतावनीसमेत दिएको थियो । प्राधिकरणको उक्त चेतावनीलाई कोही कसैले सुनुवाइ नगरे पनि प्राधिकरणले हालसम्म कुनै कारवाही प्रक्रिया अगाडि बढाएको छैन ।

त्यसो त नेपाल विद्युत् प्राधिकरणले यसअघि नै काठमाडौँको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र मातहतका तार भूमिगत गर्ने प्रक्रिया शुरु गरिसकेको छ । सो योजनाका लागि निर्माण व्यवसायी छनोट भई आवश्यक प्राविधिक तयारी गरिरहेको छ । प्राधिकरणले क्रमशः अन्य स्थानको तारसमेत भूमिगत गर्ने योजना तय गरेको छ ।

 
 
  
 

You may also like