सप्तकोसीको बाँध फुट्यो , सयौँ घर उच्च जोखिममा

काठमाडाैँ । उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको छ । अविरल वर्षासँगै आएको बाढीले नदीको बाँध फुटेको हाे ।

बिहान ४ बजेतिर बाँध फुटेर गाउँ पस्दा बेलका नगरपालिका- २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका-६ डुबानमा परेका छन् । सोमबार बेलका नगरपालिकाले बस्ती छाड्न माइकिङ गरेकाले मानवीय क्षति नहुने आशा गरिएको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । उनकाअनुसार नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ त्यसको यकिन तथ्यांक आउन बाँकी छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरिरहेका छन् । ‘कोसीको पूरै भंगालो पसेको छैन, बाढी ओभरफलो भएको हो’, उनले भने ।

सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत् कोशी ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएको उनले बताए । नदी कटानले बहाब गाउँतिर सोझिँदा बेलका नगरपालिका ४ वडाका दर्जन बढी गाउँका बासिन्दा उच्च जोखिममा परेका छन् । उदयपुरको बेलका नगरपालिका-८ को लाहुरे खोचमा सप्तकोशी नदी फुटेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबिसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्ष ४ हजार घर परिवार उच्च जोखिममा परेका हुन् ।

सप्तकोसीले नयाँ मार्ग बनाए त्यहाँ बसोबास गर्ने ४ हजार घर परिवार विस्थापित हुनुका साथै ठूलो जनधनको क्षति हुने बराह क्षेत्र नगरपालिका-६ का निवर्तमान वडा सदस्य श्यामबहादुर लिम्बुले बताए । कोसी व्यारेज निर्माण गरेको बेला देखिको सो सम्झौता अनुसार भारत सरकारले बर्सेनि कटान रोक्ने प्रयास गरेपनि पूर्णरूपमा सफल हुन नसक्दा नेपाली भूभाग वर्षेनी कटान र डुबानमा पर्दै आएको हो ।

 
 
  
 

You may also like