आज कल्की जयन्ती मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल सप्तमीका दिन मनाइने कल्की जयन्ती आज मनाइँदै छ । कल्की भगवान विष्णुको दशौं अवतार हो । वैदिक सनातन धर्म अनुसार यो भविष्यमा हुने अवतार मानिन्छ ।

कल्की अवतार कलियुगको अन्तिम अवस्थामा हुन्छ । जब कलियुगमा सबैतिर लुटमार, हिंसा, अत्याचारलगायत बढ्छ त्यसपछि यो अवतार हुने विषय विभिन्न पुराणमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउँछन् । उनी भन्छन्, ‘त्यस समयमा अधर्मी पापीको नाशसँगै कलियुग समाप्त हुन्छ ।’ कल्की अवतारपछि कली युग समाप्त भई सत्य युगको आरम्भ हुन्छ भन्ने हिन्दू धर्म ग्रन्थको मान्यता छ ।

पुराणमा उल्लेख भएको कथाअनुसार कलियुगमा पापको सीमा नाघेपछि दुष्टहरूको संहार गर्नका लागि कल्की अवतार प्रकट हुन्छ । ‘सम्भल ग्राम मुख्यस्य ब्राह्मणस्य महात्मनः भवने विष्णुयशसः कल्की प्रादुर्भविष्यति ।।’ अर्थात – सम्भल ग्राममा विष्णुयश नामको श्रेष्ठ ब्राह्मणको पुत्रको रूपमा भगवान कल्कीको जन्म हुनेछ ।

भगवान कल्की देवदत्त नामको घोडा चढेर सवारी भई आफ्नो तलवारले दुष्टहरूको संहार गर्ने मान्यता छ । त्यसपछि सत्य युगको प्रारम्भ हुने विश्वास गरिएको छ । कल्की अवतार कली युगको अन्त्यका लागि हुने मान्यता छ । कल्की भगवानको कथा कल्की, अग्नि लगायत पुराणमा उल्लेख गरिएको छ ।

 
 
  
 

You may also like