आज साउनको पहिलो सोमबार, पशुपतिमा भक्तजनको घुइँचो

काठमाडौँ । आज साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा पूजा अर्चनाका लागि आएका भक्तजनहरूको घुइँचो रहेको छ । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । आज शिवको पूजा अर्चना आजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ । त्यस्तै ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाऊँ भनी सोमबार व्रत बस्ने चलन अझ बढी छ । असार महिनामै चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत सुरु भएको छ । पशुपतिनाथ मन्दिरमा चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड लागेको छ ।

पशुपतिमा चान्द्रमासअनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । साउनमा अधिकमास परे पनि नित्य रूपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

 
 
  
 

You may also like