फिफा वरियतामा नेपाल ६ स्थान तल

by समतल अनलाइन

काठमाडौँ । फिफाको अक्टोबर महिनाको वरीयतामा नेपाल एकैपटक ६ स्थान ओरालो लागेको छ । नेपालले ९८८ अंक जोडेर १६७औ स्थानमा झरेको छ  । यस अघि नेपाल १६१औ स्थानमा थिए ।

फिफा वरीयताअनुसार नेपाल दक्षिण एसिया क्षेत्रमा फराकिलो स्थान गुमाउने राष्ट्रका रूपमा रहेको छ । विश्वकप छनोटमा नेपाल अस्ट्रेलियासँग ५–० तथा जोर्डनसँग ३–० ले पराजित भएको थियो । सार्क क्षेत्रमा नेपालभन्दा पछि भुटानले चार स्थान गुमाएको छ । भुटान फिफाको १८९औँ स्थानमा छ । यता दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारतले पनि दुई स्थान गुमाएको छ ।

भारत एक हजार दुई सय एक अंकका साथ १०६औँ स्थानमा छ । माल्दिभ्स एक स्थान तल झर्दै १५४औँ स्थानमा रह्यो । बंगलादेशले तीन स्थान सुधार गरेको छ । विश्वकप छनोटमा भारतलाई बराबरीमा रोक्नु बंगलादेशको ठूलो उपलब्धिका रूपमा रह्यो । बंगलादेश १८४औँ स्थानमा छ । पाकिस्तान दुई स्थान सुधार गर्दै २०१औँ स्थानमा रहँदा श्रीलंका एक स्थान तल झर्दै २०३औँ स्थानमा छन् ।

वरीयतामा बेल्जियम १७५५ अंकका साथ शीर्ष स्थानमा कायम छ । वरीयताको शीर्ष स्थानमा यसपटक कुनै परिवर्तन भएको छैन । विश्व च्याम्पियन फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा यथावत् छन् ।

 
 
  
 

You may also like