नेपाल प्रेस युनियनकाे आज मतदान : ८७ पदमा १७३ जना भिड्दै, ३१ निर्विरोध

हेटौंडा । नेपाल प्रेस युनियनको चुनावी कार्यतालिका अनुसार आज (शनिबार) मतदान हुँदैछ । हेटौँडामा हिजोदेखि शुरु भएको महाधिवेशनमा आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।

देशभरका ७७ जिल्लाबाट १,६५० जना प्रतिनिधिले मतदानमा भाग लिनेछन् । झण्डै ८ वर्षपछि हुन लागेको कांग्रेस निकट प्रेस युनियनको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाअधिवेशनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
हिजो दुईवटा प्यानलले उम्मेदवारी दर्ता गरेका छन् । यसका लागि उम्मेदवारी दर्ता र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको काम समेत शुक्रबार नै सकिएको छ ।

प्रेस युनियन केन्द्रमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति समेत गरी १२० जनाको प्रतिनिधित्व रहनेगरी विधानमा व्यवस्था गरेको छ । जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १२, महासचिव १, उपमहासचिव ६, सचिव १७, कोषाध्यक्ष १ र केन्द्रीय सदस्य ७६ जना समेत गरी कुल ११५ जना रहने व्यवस्था छ ।

त्यस्तै, केन्द्रीय लेखा समितिमा संयोजक १ र सदस्य ४ जना समेत गरी ५ सदस्य रहने व्यवस्था छ । यस्तै कुल १२० वटा पदमध्ये ११८ पदका लागि उम्मेदवारी परेको छ । दुई पदका लागि कुनै पनि मनोनयन दर्ता भएको छैन भने उम्मेदवारी परेका ३१ पदमा निर्विरोध निर्वाचित भएको घोषणा भइसकेको छ ।

मनोनयन दर्ता नभएको पदमा अल्पसंख्यक महिला कोटाको केन्द्रीय सदस्य र उपत्यका महिला कोटाको केन्द्रीय सदस्य पद रहेको छन् । अल्पसंख्यक महिला केन्द्रीय सदस्यतर्फ १ जनाको कोटामा कुनै पनि मनोनयन दर्ता भएन । उपत्यका प्रदेशको महिला केन्द्रीय सदस्यमा २ जनाको कोटामा १ जनाको मात्रै मनोनयन दर्ता भयो । बाँकी ८७ पदका लागि भने आज निर्वाचन हुँदैछ । यसका लागि १७३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

नेपाली कांग्रेसको संस्थापन पक्षबाट अनिता बिन्दु र संस्थापन इतर समूहबाट शिव लम्सालको प्यानल चुनावी मैदानमा छ । यसैगरी अध्यक्षमा भुवन भट्टले पनि उम्मेदवारी दिएका छन् ।

प्रेस युनियनको वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र सरोज अधिकारीले उम्मेदवारी दिएका छन् । यसैगरी उपाध्यक्ष खुल्ला दुई वटा पदमा चार जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष खुल्लामा राममणि दाहाल, नकुल अर्याल, भिष्मराज ओझा र शेखर रेग्मीले उम्मेदवारी दिएका छन् ।

उपाध्यक्ष समावेशी पदमा भने सङ्खुवासभाका दिपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् । यसैगरी ११ जना अरु उपाध्यक्षका लागि दुई प्यानलबाट उम्मेदवारी छ । यसैगरी महासचिव पदमा जगन्नाथ दुलाल र दिलिप पौडेलका बीचमा प्रतिस्पर्धा हुँदैछ । अध्यक्षदेखि सदस्यसम्म दुई प्यानलमा विभाजित भएका छन् । खुल्ला रुपमा उम्मेदवारी दिनेहरु पनि छन् ।

 
 
  
 

You may also like