देशका धेरै स्थानमा बिहानैबाट वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण आज (शनिबार) बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको ।

एक-दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ । बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा सामान्यदेखी पूर्ण बदली रहनेछ । बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

 
 
  
 

You may also like