कांग्रेस पदाधिकारी बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । आज (मंगलबार) दिउँसो पार्टी कार्यालय सानेपामा भ्रातृ र शुभेच्छुक संस्थाको विधानका सन्दर्भमा पदाधिकारी बैठक बस्न लागेको हो । महामन्त्री गगन थापाले पदाधिकारी बैठकमा मूलतः भ्रातृ संस्थाकै विषयमा छलफल हुने बताए ।

कांग्रेसमा स्थानीय निर्वाचनअघि देखि भ्रातृ संस्थाको विधान परिमार्जनका विषयमा छलफल भइरहेको छ । बीचमा निर्वाचनका कारण राखिएको थियो । आज त्यसमा छलफल हुन लागेको थापाले बताए । भ्रातृ संस्थाको विधान वाहेक समसामयिक राजनीतिबारे पनि छलफल हुने उनले बताए । बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा सहभागी नहुने बुझिएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पदाधिकारी बैठक बस्ने छन् ।

उक्त बैठकमा विधान परिमार्जन र पारित गर्नका लागि पार्टीभित्र सहमति निर्माणका लागि छलफल हुने सहमहामन्त्री महालक्ष्मी उपाध्यक्ष ‘डिना’ ले बताइन् । सहमहामन्त्री जीवन परियारले पार्टीभित्रका फरक मतलाई नेतृत्वले सम्बोधन गर्नुपर्ने बताए । कांग्रेसले असार २७ मा स्थानीय निर्वाचनका समीक्षा, संघ र प्रदेश निर्वाचनको रणनीति र पार्टीको आन्तरिक संरचना निर्माणका छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

 
 
  
 

You may also like