पाँचदलीय गठबन्धन कुनै दलविरुद्ध होइन, संविधान कार्यान्वयन गर्न हो : गृहमन्त्री

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र वैदेशिक सम्बन्ध सन्तुलनका लागि भएको बताएका छन् । उनले वर्तमान सरकारले निर्वाचनमा भाग नलिएका दललाई समेत लोकतान्त्रिक धारमा ल्याउन सरकारले प्रयत्न गरिरहेको जानकारी दिए ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्रं २ ले आज बुटवलमा आयोजना गरेको स्थानीय तहका नव निर्वाचित जनप्रतिनिधिको सम्मानमा गृहमन्त्री खाँणले नेपाल कुनै पनि अन्तर्राष्ट्र्रिय सैन्य गतिविधिमा सहभागी नहुने पनि प्रष्ट पारे ।

सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकमा पर्ने सिद्धबाबा क्षेत्रको सडक दुरावस्थाका कारण हजारौँ यात्रुले सास्ती भोग्नुपरेको र सयौँले ज्यान समेत गुमाएकाले त्यसलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण आगामी आर्थिक वर्षदेखि अगाडि बढाइने र पूर्वपश्चिम राजमार्गको दाउन्नेमा पनि सुरुङमार्ग निर्माणको काम सुरु हुने उनले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएको र आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पनि पार्टीलाई ठूलो र बलियो बनाउने गरी काम गर्न नेता कार्यकर्तालाई मन्त्री खाँडले आग्रह गरे ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई घोषणापत्र र पार्टीको निर्देशनअनुसार काम गर्न आग्रह गरे । कार्यक्रममा रुपन्देही क्षेत्र नं २ अन्तर्गत बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सैनामैनाका जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।

 
 
  
 

You may also like