दाङ । दाङबाट किनमेलका लागि भारतीय बजार गएका दुई नेपाली युवतीमाथि सामुहिक बलात्कार भएको छ । अरु चार जना लुटिएका छन् ।
आइतबार बिहान ११ बजेतिर भारतको मनिपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवतीमाथि भारतीय युवाहरुले सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । दाङबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको जङ्गलमा भारतीय युवाको समूहले दुई युवतीमाथि सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।
किनमेलका लागि भारतीय बजार हिंडेका ६ जना युवतीमध्ये दुई जनालाई बलात्कार गरिएको र अरु चार जनालाई ती युवाहरुले धम्काउदै सरसामान लुटपाट गरेको पाइएको प्रहरीले बताएको छ । पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो ।
घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरिरहेको डिएसपी रिजालले बताएका छन् ।
पीडित युवतीहरुले भारतीय प्रहरीमा जोहेरी दिइसकेको पनि डिएसपी रिजालले जानकारी दिए । भारतीय प्रहरीले चार जना युवालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जानकारी आफूले पाएको डिएसपी रिजालले बताएका छन् ।