कर्णालीको सुर्खेतमा शाइन रेसुङ्गाको शाखा उद्घाटन

बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शाखा कार्यालय औपचारिकरुपमा सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेशमा शाइन रेसुङ्गाको बैंकको यो पहिलो शाखा हो । शाखा कार्यालयको बिहीबार बिरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया भण्डारी ढकालले उद्घाटन गरेकी छन् ।

सो अवसरमा बोल्दै नगर प्रमुख मोहनमायाले अझै पनि ग्रामीण क्षेत्र र विपन्न समुदायमा बैंक तथा वित्तीय संस्थाको पहुंच पुग्न बांकी रहेको बताउंदै लुम्बिनीमा केन्द्रीय कार्यालय भएको बैंक कर्णालीमा आउनु स्वागतयोग्य भएको बताइन् ।
नेपाल राष्ट्र बैंक सुर्खेतका निमित्त प्रमुख पुर्णबहादुर मौराती नेपालीले शाखा विस्तारसंगै वित्तीय साक्षरतालाई अभियान पनि चलाउन सुझाव दिंदै उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी गर्न आग्रह गरे ।

उद्योग वाणिज्य संघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले प्रदेश राजधानीमा नयां बैंकको शाखा सञ्चालनमा आउनुले स्थानीय उद्योगी व्यवसायीलाई आर्थिक कारोबार गर्न सहज हुने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय जनताको माग र आवश्यकता अनुसार बैंकले सहजरुपमा कर्जा र निक्षेप योजना लागु गर्ने बताए ।

उनले शाइन रेसुङ्गा बुटवलमा केन्द्रीय कार्यालय भएको लुम्बिनी प्रदेशकै एक मात्र राष्ट्रियस्तरको विकास बैंक भएको उल्लेख गर्दै बैंकले शहरी क्षेत्र संगै ग्रामीण र दुर्गम क्षेत्रमा पनि शाखा विस्तार गर्दै जाने नीति लिएको बताए ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले बैंकका लुम्बिनी प्रदेशमा मात्रै ७१ वटा र संघीय राजधानी काठमाडौंमा ५ वटा सहित देशभर ८४ वटा शाखा शाखा कार्यालय सञ्चालनमा रहेका जानकारी गराए ।

अधिकृत पुँजी ५ अर्ब, जारी तथा चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको बैंकको निक्षेप ४१ अर्ब १३ करोड र कर्जा लगानी ३८ अर्ब १५ करोड रहेको छ भने ५ लाख १५ हजार बढी निक्षेपकर्ता र १४ हजार ५ सय बढी ऋणी रहेका छन् ।

 
 
  
 

You may also like