पटनाबाट दिल्लीका लागि उडेको स्पाइसजेटको विमानमा चरा ठोक्किएपछि…

एजेन्सी । छिमेकी राष्ट्र भारतको विहार राज्यको राजधानी पटनामा स्पाइसजेटको विमान आपतकालीन अवतरण गराइएको छ । आइतबार स्पाइसजेटको विमान नम्बर ७२३ सकुशल अवतरण गराइएको हो । उक्त विमान पटनाबाट दिल्लीका लागि उडेको थियो ।

उडान भर्ने बित्तिकै विमानको इन्जिनमा प्राविधिक खराबी देखिएपछि आपतकालीन अवतरण गरिएको हो । उक्त उडानमा रहेका सबै १८५ यात्रु पूर्णरुपमा सकुशल रहेका छन् ।

पटनाबाट दिल्ली जाँदै गरेको विमान चरासँग ठोक्किएको डीजीसीएले जनाएको छ ।

यस्तो छ स्पाइसजेटको प्रतिक्रिया

यो विमानमा सवार १८५ यात्रु पूर्णरुपमा सकुशल रहेकाले स्पाइस जेट एयरलाइन्सले वक्तव्य जारी गरेको हो । स्पाइसजेटका प्रवक्ता जितेन्द्र शर्माले भनेका छन्, ‘हाम्रो विमान बी७३७–८०० मार्फत पटनाबाट दिल्ली जाँदै गरेको फ्लाइट नम्बर एसजी–७२३ को इन्जिनमा चरा ठोक्किएपछि विमानलाई मानक दिशानिर्देश अनुसार पटना फर्काउने निर्णय गरिएको थियो ।’

उनले थप भनेका छन्, ‘सो क्रममा हाम्रा पाइलटले पटनामा सुरक्षित आपतकालीन अवतरण गराए र विमानमा सवार सबै यात्रुलाई सकुशल बाहिर निकालियो । प्रारम्भिक अनुसन्धानमा विमानका तीनवटा फ्यान ब्लेडमा क्षति पुगेको छ । घटनाको अनुसन्धान प्रतिवेदन आएपछि मात्रै केही भन्न सकिनेछ ।’

 
 
  
 

You may also like