सम्वर्द्वनवाद र लोकतान्त्रिक गणतन्त्रको एजेण्डा बोकेर राप्रपा नेपाल जनतामा

बुटवल । नयाँ बैकल्पीक राजनीतिक शक्ति निर्माण गर्ने अभियानमा देश दौडाहमा हिडेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले बुधबार बुटवलमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बर्तमानको चुनौती र विकल्प बिषयक अन्तरक्रिया कार्यक्रममा पार्टीको अवधारणा सार्वजनिक गर्दै पार्टी अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र,सम्वद्र्धनवाद र लोकतान्त्रिक गणतन्त्रको नारा लिएर राप्रपा नेपाल जनता माझ आएको बताए । अन्य दलहरुको भन्दा फरक विचार,कार्यशैली र मार्गचित्रका साथ राप्रपा नेपाललाई पुनर्जागृत गरिएको बताउदै अध्यक्ष थापाले राप्रपा नेपाल मुलुकको वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित हुने विश्वास ब्यक्त गरे ।

राप्रपामा सैद्धान्तिक र राजनीतिक बिचलन आएपछि आफुहरुले राप्रपा नेपाल पुनर्जागृत गरेको भन्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले पार्टीले हाललाई राजतन्त्रको एजेण्डा छाडेको बताए ।

२००७ साल र २०६२÷०६३ को आन्दोलन पछि मुलुकमा ऐतिहासिक र दुरगामि परिवर्तन भएको स्मरण गर्दै अध्यक्ष थापाले राजनीतिक परिवर्तनपछि आर्थिक परिवर्तन हुन नसक्दा परिवर्तन संस्थागत हुन नसकेको बताए । मुलुकमा स्थायी शान्ति स्थिरता र समृद्धिका लागि राजनीतिक परिवर्तनहरु भए पनि त्यसबाट आम नेपाली जनता लाभान्वित हुनेभन्दा पनि केही सिमित दलका केही नेताहरु मात्रै समृद्ध बनेको आरोप लगाए । २०६२÷०६३ को आन्दोलन पछि मुलुकमा बाह्य शक्तिहरुको प्रभाव बढेको भन्दै उनले पछिल्लो समय मुलुकको राष्ट्रियता थप कमजोर बनेको धारणा राखे ।

कार्यक्रममा नागरिक समाज,बिभिन्न पेशागत संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आ आफ्नो भनाई राखेका थिए । अन्तरक्रियासँगै राप्रपा नेपालले बुटवलमा लुम्बिनी प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला समेत आयोजना गरेको छ । राप्रपा नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा भएको भेलामा प्रदेशका १२ वटै जिल्लाका जिल्ला अध्यक्ष सहित झण्डै एक सय अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रम संयोजक सुरज गौतमले जानकारी दिए ।

कार्यक्रममा राप्रपा केन्द्रीय महामन्त्री राजाराम बर्तौला, केन्द्रीय सदस्य जंग बहादुर बस्नेत, लुम्बिनी प्रदेश अध्यक्ष गणेश पौडेल,रुपन्देही जिल्ला अध्यक्ष प्रदिप शेरचन,प्रदेश दलित मोर्चा संयोजक सुरेश कुमार विश्वकर्मा लगायतले गत स्थानीय तहको निर्वाचनमा जनताले उत्साहजन भोट दिएको भन्दै आगामी प्रदेश र संघीय निर्वाचनमा समेत हिन्दु राज्य सहितको गणतन्त्रको परिकल्पना सहितको एजेन्डामा जनताले साथ दिने विश्वास समेत व्यक्त गरे ।

 
 
  
 

You may also like