असार १ गतेबाट लागू हुने आइतबारको सार्वजनिक बिदा खारेज

काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १ देखि लागू हुने गरी आइतबारको सार्वजनिक बिदा खारेज गरेकाे हाे ।

अब असार १ देखि शनिबार मात्र सार्वजनिक बिदा हुने भएको छ। गत वैशाख २६ गते बसेको मन्त्रिरिषद् बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न परीक्षणकालका लागि भन्दै जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदै आएको थियो। तर हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको थियो ।

त्यस्तै संघीय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गरे पनि स्थानीय तहहरूले भने अवज्ञा गर्दै आएका थिए ।

यसैबीच हप्तामा दुई दिन बिदा दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेको छ । अधिवक्ता रामबहादुर शाही, तेजकुमार लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले आवश्यक तयारीबिनै हप्तामा २ दिन बिदा दिने निर्णय गरेकाले उक्त निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय पनि बढाएको थियो । कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको थियो ।

 
 
  
 

You may also like