लुम्बिनी प्रदेशका ट्रक व्यवसायीको आन्दोलनमा पश्चिमाञ्चलको ऐक्यवद्धता,जेठ २० देखि ट्रक नचलाउने

बुटवल । सरकारले तोकेको भाडा दर नपाएको भन्दै ट्रक व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले सरकारले तोकेको भाडा दर कार्यान्वयनमा सरोकारवालालाई दवाव दिन यही जेठ २० गतेदेखि ट्रकहरु घर र ग्यारेजमा थन्काई ढुवानी कार्य रोक्ने निर्णय गरेका हुन् । लुम्बिनी प्रदेशका ट्रक व्यवसायीहरुको उक्त निर्णयलाई पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले समेत कार्यान्वयन गर्ने जनाएको छ ।
सरकारले तोकेको भाडा दर व्यवहारमा नपाएकाले आन्दोलन स्वरुप जेठ २० गतेदेखि ट्रकहरु घरमा, ग्यारेजमा थन्काई ढुवानी रोक्ने विषयमा ट्रक व्यवसायीले सहमती गरेका छन । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले मंगलबार आयोजना गरेको व्यवसायी भेलामा बोल्ने व्यवसायीले सरकारले तोकेको भन्दा कम भाडा ल्याएर चलाउने ट्रक व्यवसायीलाई कारवाही गर्न सुझाव दिएका छन ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले सरकारले तोकेको भाडा नपाउंदासम्म समितिमा दर्ता भएका कुनै पनि ट्रकहरु नचल्ने र तोकेको भडा पाएमा गाडिहरु सहज रुपमा चल्ने बताउनुभयो ।
ढुवानी व्यवसायी संघ बुटवलका अध्यक्ष श्याम हमालले ट्रकका लागि सरकारले तोकेको भाडा नदिइ चलाउने ट्रासपोर्टहरुलाई कारवाही गरिने चेतावनी दिनुभयो ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय सदस्य बिरेन्द्र यादव पश्चिमाञ्चल यातायात व्यवसायी समितिका पूर्व अध्यक्ष गुप्तबहादुर केसी, गणेश पन्त, व्यवसायी कृष्ण खड्का,गेहेन्द्र न्यौपाने, गोकुल शर्मा समितिका वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्की महासचिव हरि प्रसाद कंडेल लगायतले उद्योगहरु र ट्रान्सपोर्ट व्यवसायीका कारण सरकारले तोकेको भाडा दर नपाउंदा व्यवसाय संकटमा परेपछि आन्दोलनमा उत्रिनुपरेको बताएका छन ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति मातहत मात्रै २ हजार बढी ट्रकहरु सञ्चालनमा छन् । सरकारले जेठ २ गतेदेखि लागु गरेको भाडा दर अनुसार भैरहवादेखि काठमाडौं र पोखराका लागि ३१ हजार ५ सय ८० रुपैयां रहेको छ ।

 
 
  
 

You may also like